‘हेर्दा हेर्दै बूढो भइयो, बाढी उस्तै’


 

शिवहरिप्रसाद भट्टराई, राजविराज
सप्तरीको तिलाठीमा च्यानल खनेर पानी बगाउने नेपाल र भारत दुवै देशका प्राविधिकहरूको योजना पूरा नभएका कारण अहिले डुबान निम्तिएको सम्बद्ध विज्ञहरूले बताएका छन्। भारतीय पक्षका कारण सो योजना कार्यान्वयन नभएको बताइएको छ। सन् २०१३ मा नेपाल–भारत दुवै पक्षका प्राविधिकहरूले अध्ययन गरी च्यानल खनेर खाडो, महुली र जीता खोलाको पानी बगाउने योजनाको प्रतिवेदन दिए पनि हालसम्म उक्त प्रतिवेदन कार्यान्वयन नभएका कारण तिलाठीलगायतको गाउँ डुवानमा पर्दै आएका छन्।

२०७४ वैशाख ६ गते काठमाडौंमा बसेको नेपाल–भारत कोशी समन्वयन समितिको बैठकमा यो विषयलाई प्राथमिकता दिन अनुरोध गरे पनि हालसम्म भारतीय पक्ष मौन रहेको खाडो नदी नियन्त्रण आयोजनाका प्रमुख अखलाक सिद्धिकीले बताए।

प्रमुख सिद्धिकीले भने– ‘२ दशमलव १ किलोमिटर लम्बाइ र २१ मिटर चौडाइको च्यानल खनेर भारत क्षेत्रमा पानी बगाउन सके बाढीको पानी कम हुन सक्छ।’
यता, खाडो नदीमा दुवैतर्फ बाँध बनाएर राजमार्गसम्म र राजमार्ग उत्तर १० किलोमिटर चुरेसम्म गरी ६० किलोमिटर बाँध बनाउने योजनाका लागि २ अर्ब रुपियाँ छुटइइएकोमा हाल २६ किलोमिटर बाँध बनाउने काम सम्पन्न भएको जानकारी दिँदै उनले यसका लागि १५ करोड खर्च भएको बताए।

खाडो खोलामा आएको बाढीले रायपुरबाट बाढी छिरेर पौवा, राजविराज नगरपालिका–२ र १० डुमरी शिवथानमा क्षति पुर्याएको थियो भने महुली, जीता र सुन्दरी खोलाले मैनाकडेरी र त्रिकोल गाविसको वडा नम्बर १ देखि ६ सम्म तथा चन्द्रनहरमा नहर कटान गरेर ठूलो क्षति पुर्याएको छ।

दशगजामा भारतीय पक्षले बाँध बनाएका कारण सप्तरीका एक दर्जन गाउँ डुबानमा परेका छन्। जिल्लाको कोइलाडी तिलाठी गाउँपालिकाअन्तर्गत कुनौली सिमा क्षेत्रमा करिब ३ किलोमिटर लामो बाँध बनेपछि दशगजाले नदीको रूप लिएको छ।

उत्तरतर्फबाट दक्षिणतर्फ बग्ने खाडो, महुली र जिता खोलाको पानी भारतीय सिमामा बनेको बाँधले गर्दा प्राकृतिक बहाव रोकिएका कारण दशगजामा नदी बनेको हो।

विगत दश वर्षदेखि उक्त क्षेत्रमा बाँध बनाउने क्रम शुरू भएको र उक्त बाँधलाई पक्की बनाइएको छ।

बाँधका कारण तिलाठी, लौनियाँ, सकरपुरा, वेल्ही, को.बरसाईन, कोईलाडी, ईनर्वा, रम्पुरा, मल्हनियाँ, कुशहा, को.मधेपुरालगायतका गाउँहरू जलमग्न भएका छन्। गत वर्ष बाढीकै कारण तिलाठीमा नेपाली पक्ष र भारतीय जनताकाबीच आपसमा बाँधका विषयलाई लिएर कुटाकुटसम्म भएको घटना सेलाउन नपाउँदै पुनः वर्षा शुरू भएको छ।

खाडो, महुली र जीता खोलाको पानी दशगजा भएर बग्न थालेपछि तिलाठी छेउमा च्यानल खनेर भारततिर बगाउने दुवै देशका प्राविधिकहरूले दिएको प्रतिवेदन हालसम्म कार्यान्वयन नहुँदा उक्त क्षेत्रका वासिन्दा डुवानमा बस्न बाध्य भएका छन्।

अविरल वर्षाका कारण सदैव डुवानमा बस्न बाध्य हुनु परेको तिलाठी गाउँका दिनेश्वर मिश्रले बताए। उनी भन्छन– ‘हेर्दा हेर्दै बुढो भइयो, तर बाढीको समस्या समाधान भएन।’

‘आफ्नो जीवनकालमा यो समस्या समाधान होला भन्ने कुरामा मिश्र विश्वस्त छैनन्। ‘आफू गाविस अध्यक्ष भएर पटक–पटक सरकारका प्रतिनिधिलाई अनुरोध गर्यो, तर हालसम्म डुवानमा बस्न बाध्य छौं’–उनले भने।

तिलाठी गाउँकै समाजिक कार्यकर्ता देवनारायण यादव गत वर्षको बाढिमा बाँध बनाउन रोक्दा भारतीय पक्षको कुटाई पनि खाईयो, त्यति बेला दुवै देशका अधिकारीहरूले समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेपनि समस्या जस्ताको त्यस्तै रहेको बताउँछन्। नेपाल–भारत कोशी सम्झौताअनुसार कोसीसित जोडिएका खोलाहरूबाट हुने क्षतिको क्षतिपूर्ति तथा खोलाको व्यवस्थापनको जिम्मेवारी भारत सरकारको रहेको छ।