जर्मनीलाई कन्फेडेरेसन कप उपाधि


 

मस्को, (एजेन्सी)
विश्वविजेता जर्मनीले रसियामा भएको फिफा कन्फेडरेसन फुटबल कपको उपाधि जितेको छ।

आइतबार राति सेन्ट पीटर्सबर्गको मैदानमा भएको फाइनलमा चिलीलाई १–० ले पराजित गर्दै जर्मनीले पहिलो पटक कन्फेडेरेसन कपको उपाधि उचालेको हो। जर्मनीलाई च्याम्पियन बनाउन खेलको २०औं मिनेटमा लार्स स्टिन्डलले गरेको गोल निर्णायक सावित भयो। यो जर्मनीको पहिलो कन्फेडरेसन कप उपाधि हो। उक्त गोल चिलीका डिफेन्डर मर्सेलो डियाजको गल्तीका कारण भएको थियो। उनले आफ्नै डी–एरियानजिक बल नियन्त्रण गर्न नसकेको अवस्थामा टिमो वेर्नरले बल खोस्दै स्टिन्डललाई खाली गोलपोस्टमा बल मिलाइदिएका थिए।

जसलाई स्टिन्डलले बिना कुनै गल्ती गोल गर्दै जर्मनीलाई अगाडि पारेका थिए।
तुलनात्मक रूपमा खेल अवधिभर हावी रहे पनि गोल गर्न नसक्दा चिलीले हारलाई आत्मसात गर्नुपरेको हो। चुस्त बल खोस्ने शैली र तीव्र गतिको खेल पस्केका चिलीका सामु जर्मनी रक्षात्मक देखिएको थियो। यता जर्मनीले पनि बेला बेलामा काउन्टर अटइकमार्फत चिलीको रक्षापंक्तिलाई व्यस्त भने पारेका थिए।

खेलको अन्तिम समयसम्म गोलका लागि भरमग्दुर प्रयास जारी राखे पनि असफल भएपछि अन्ततः चिली हारलाई स्वीकार्न बाध्य बन्यो। अधिकांश युवा फुटबलरको बाहुल्यता रहेको जर्मनीले इतिहासमै पहिलोपटक कन्फेडेरेसन कपको उपाधि जित्न सफल भएको हो। यसअघि आइतबारै भएको खेलमा मेक्सिकोलाई २–१ ले हराउँदै पोर्चुगलले तेस्रो स्थान कब्जा गरेको थियो। प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने गोल्डेन ग्लोभ चिलीका कप्तान एवं गोलरक्षक क्लाउडियो ब्राभोले प्राप्त गरे। यस्तै फाइनलमा जर्मनीका लागि निर्णायक गोल गर्ने लार्स स्टिन्डलसरह समान ३ गोल गरेका वेर्नरले दुई असिस्ट गरेका कारण गोल्डेन बल हात पारे।

सन् १९९२ देखि शुरू भएको यस प्रतियोगिताको उपाधि जित्ने जर्मनी दोस्रो युरोपियन टोलीसमेत बनेको छ। यसअघि युरोपियन टोलीका रूपमा जिनेदिन जिदानसहितको फ्रान्सले कन्फेडेरेसन कपको उपाधि उचालेको थियो। चारपटक उपाधि जितेको ब्राजिल कन्फेडेरेसनको कप प्रतियोगिताकै सर्वाधिक सफल टोली हो।