करोडौं मुल्यका स्वास्थ्य चौकीका भवनहरु प्रयोगबिहिन

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सा जिल्लामा निर्माण भएका स्वास्थ्यचौकीका भवनहरु हस्तान्तरणमा हुँदा करोडौंका भौतिक सम्पत्ति प्रयोगबिहिन अवस्थामा रहेका छन् ।

खासगरी जिल्लाको जिल्लाको साविकको गादी,परवानीपुर, भवानीपुर, लगायतका आधा दर्जन स्थानमा निर्माण भएका स्वास्थ्य चौकीका भवनहरु हस्तान्तरण हुन नसक्दा प्रयोगबिहिन अवस्थामा ती भवनहरु अलपत्र समेत परेका छन् । यसैबीच पर्साका मानवअधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको ध्यानाकर्षण गराउदै निर्माण भएका स्वास्थ्यचौकीका भवन प्रयोगमा ल्याउन माग गरेका छन् ।

स्वास्वास्थ्य चौकी हस्तान्तरण नहुदा साविकका गाविस कार्यालयहरुमा स्वास्थ्यचौकी र वर्थिङ्ग सेन्टरहरु संचालन गर्न बाध्य भएका ती अधिकारकर्मीहरुले बताएका छन्  । सानो ठाउमा चौकीहरु संचालन गर्नु पर्दा सेवाको प्रभावकरितामा समस्या आएको कुरा स्वास्थ्यकर्मीहरु आफूहरुसंग गुनासो गरेको  मानव अधिकारवादी समुहका पर्सा अध्यक्ष तवरेज अहमदले बताउनुभयो । उहाँले भवन अभावमा अधिकांश स्वास्थ्य संस्थाहरुको अवस्था नाजुक रहेको बताउनुभयो ।

पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भने तत्काल भवन हस्तान्तरणका लागि आफूले निर्देशन दिइसकेको बताउनुभएको छ । सरोकारवलानिकायहरुको उदासिनताका कारण यस्तो अवस्था देखिएको उहाँले बताउनुभयो । उक्त मानअधिकारवादी समूहले  पर्साका स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव रहेको जानकारी दिदै औषधी आपूर्तीको ब्यवस्था मिलाउन र आगामी आर्थिक वर्षमा यो समस्या दोहरिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको पनि ध्यानाकर्षण गराएको छ । जिल्ला जनस्वाथ्य कार्यालय पर्साका प्रमुख राजकिशोर पंडितले स्वास्थ्य चौकी ठेकेदार कम्पनीहरुको लापारवाहीका कारण आफूहरुको स्वामित्वमा आउन नसकेको बताउनुभयो ।

उहाँले स्वास्थ्य संस्थामा औषधी अभाव हुन नदिन आफूले कर्मचारीलाई निर्देशन दिएको जिकिर गर्नुभयो । सरकारी निकायको ध्यानाकर्षण गराउने टोलीमा नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष एवं इन्सेक प्रतिनिधि के.सी.लामिछान, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी,नेपाल मानव अधिकार संगठन पर्साका सचिव शिवनाथ यादव लगायत सहभागी थिए ।