नाटकीय खेलमा पोर्चुगल विजयी


 

मस्को, (एजेन्सी)
खेलको इन्ज्युरी समयमा पेपेले बराबरी गोल गरेपछि नाटकीय रूपमा पोर्चुगल कन्फेडरेसन कपको तेस्रो स्थानका लागि भएको खेलमा विजयी भएको छ।

फिफा कन्फेडेरेसन कपको तेस्रो स्थानका लागि आइतबार भएको खेलमा पोर्चुगलले मेक्सिकोलाई २–१ ले पराजित गरेको हो। खेलको निर्धारित ९० मिनेटसम्म १–० ले अघि रहेको मेक्सिकोलाई खेलमा थपिएको इन्ज्युरी समय र अतिरिक्त समय भने फापेन। खेलमा चार मिनेट इन्ज्युरी समय थपिएको थियो। जसको पहिलो मिनेटमा रिकार्डो करेज्माको क्रसलाई सदुपयोग गर्दै कार्यवाहक कप्तान पेपेले उफ्रेर किक गरेको बलले जाली चुमेपछि खेल १–१ गोलको स्थितिमा टुंगियो।

नियमित समयसम्म बराबरीमा टुंगिएपछि खेल अतिरिक्त ३० मिनेटसम्म लम्बियो। जसमा पोर्चुगलले पेनाल्टीमार्फत् बाजी मार्यो। खेलको १ सय ४औं मिनेटमा एड्रियन सिल्भाले प्राप्त पेनाल्टीलाई दायाँतर्फ प्रहार गर्दै पोर्चुगलको गोल संख्या दुई पुर्याए। त्यसपछि भने खेलमा कुनै गोल भएन। तर टोली दश–दश खेलाडीमा खुम्चिएको थियो। अतिरिक्त समयको १६औं मिनेटमा पोर्चुगलका नेल्सन सेमेडोले तथा त्यसको दश मिनेटपछि मेक्सिकोका राउल जिमिनेज दोहोरो पहेंलो कार्डका शिकार बन्दै मैदानबाट बाहिरिएका थिए।

नियमित कप्तान क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहेको सो खेलको पहिलो हाफमा एड्रियन सिल्भाले पेनाल्टीमार्फत् अग्रता दिलाउने मौका पाए पनि उनी सफल हुन सकेनन्। तर दोस्रो हाफमा भने आत्मघाती गोलको मद्दतले मेक्सिकोले खेलमा अग्रता बनाएका थिए। खेलको ५४औं मिनेटमा जाभिएर हर्नान्डेजको प्रहारलाई क्लियर गर्ने क्रममा पोर्चुगलका लुइस नेटोले आफ्नै गोलपोस्टमा बल छिराएपछि मेक्सिको १–० ले अघि बढेको थियो। सन् १९६९ यता यी दुईबीच भएको पाँच खेलमा पोर्चुगल अझै अपराजित नै बनेको छ। आइतबारको जितसँगै पहिलोपटक कन्फेडेरेसन कप खेलेको युरोपियन च्याम्पियन पोर्चुगलले तेस्रो स्थानमा सीमित बन्यो।