धर्मस्थलीमा जब घन्कियो कौरा

0
Shares

 

राजधानीको धर्मस्थलीलाई हालैको एक दिउँसो कौरा गीत–संगीतले मोहक र रोचक बनाइरहेको थियो। स्थानीयदेखि आगन्तुकसम्म कौराको भाकामा झुमिरहेका थिए।

निर्देशक मनाङ गुरुङ कौरा गीतको तालसँगै आफैंसमेत नाचेर मोडल रीना थापा मगर, गायक तथा मोडल शिशिर गुरुङ र दर्जनौं कोरस कलाकारलाई नाच्न सिकाइरहेका थिए। उनको निर्देशनमा छायाँकार नवराज उप्रेती क्यामेरामा विभिन्न कोणमा यी सब दृश्यलाई कैद गर्न व्यस्त थिए। मनाङको एक्सनसँगै दर्जनौं कलाकार, मोडल, गायक गायिका र प्राविधिहरु एकसाथ सटका लागि परिचालित हुन्थे। उनको कटको ध्वनिसँगै फेरी सबै पक्ष स्वचालितरूपमा रोकिन्थे। के गरौं यो मायालाई भगाई छोडौं कि बोलको कौरा गीतको सुटिङमा देखिएको रमाइलो दृश्य थियो यो।

विशेष गरी गुरुङ समुदायमा प्रचलित कौरा गीत तनहुँ र त्यस आसपासको क्षेत्रहरुमा गाउने तथा कौरा नाच्ने चलन छ। तर, यसलाई म्युजिक भिडियोमा उतार्नका लागि भने धर्मस्थलीलाई छानिएको थियो। आफ्नो मौलिक परम्परा बोकेको भाकालाई बजारमा ल्याउने जमर्को गर्ने गायक हुन् शिशिर गुरुङ। उनलाई कौरा गाउन साथ दिएकी छिन् गीता पाइजा मगरले। निर्भाना टिभी नेपालले उत्पादन र बजार व्यवस्थापन गरेको गीतलाई विष्णुहरि तिमल्सिनाले सम्पादन गरेका छन्। कौरामा शब्द, संगीत र एरेन्ज दिवान किनारको रहेको छ। निर्भाना कला केन्द्रले निर्माण गरेको यो कौराको म्युजिक भिडियोलाई निर्भाना टिभी नेपालले बजारमा ल्याएको छ।