शुक्रबार मात्र नायिका निशा अधिकारीको बिहेमा सामेल भएकी फिल्म निर्देशक निलु डोमा शेर्पाको शनिबार अचानक निधन भएको छ। केही समयदेखि अस्वस्थ रहेको भनिएकी शेर्पाको शनिबार उपचारका क्रममा महाराजगन्जस्थित शिक्षण अस्पतालमा हृदयघातबाट निधन भएको हो।
सुनगाभा नामक फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरेकी निलुले पूर्व नेपाल सुन्दरी माल्भिका सुब्बाद्वारा निर्देशित फिल्म हाउ फन्नीको निर्देशन गरेकी थिइन्। फिल्मले व्यावसायिक सफलता हासिल गर्न नसकेपछि यसका गीतहरु चर्चामा थिए। फिल्ममा रहेको शिरैमा शिरबिन्दु बोलको गीत युट्युबमा १ करोडभन्दा बढी हेरिएको थियो।
निलुले विद्यालय जीवनमै फिल्म क्षेत्रमा लाग्ने सोच पालेकी थिइन्। त्यस समयमा उनी या त प्रहरी अधिकृत या त फिल्मकर्मी बन्ने बारेमा सोच्थिन्। अन्ततः करियर चयन गर्नुपर्ने मोडमा पुगेपछि उनले फिल्म क्षेत्रलाई रोजेकी थिइन्। एक दशकदेखि कलाक्षेत्रमा सक्रिय रहँदै आएकी उनले केही समय टेलिभिजन च्यानलमा भिजेका रूपमा काम गरेपछि भारत पुगेर एसियन एकेडेमी अफ फिल्म एन्ड टेलिभिजनमा फिल्म अध्ययन गरेकी थिइन्। भारतमा रहँदा केही फिल्म र टिभीमा काम गरेकी उनी नेपालमा आमा एक्लै भएकाले स्वदेश फर्केर छोटा फिल्महरू बनाएकी थिइन्। जसमध्ये उनलाई कागज नामक छोटो फिल्मले परिचय दिलाएको थियो। उनी अभिनय पनि गर्थिन्। उनले पुन्टे परेड नामक फिल्ममा अभिनय गरेकी थिइन्।











प्रतिक्रिया