मुसहर बालबालिका साथ कुञ्जनाको बर्थडे

0
Shares

पछिल्लो समयमा बस्ती निर्माण तथा सरसफाइ अभियानमार्फत् सामाजिक सेवाबाट नाम कमाएकी हास्य अभिनेत्री कुञ्जना घिमिरे ‘सुन्तली’ ले महोत्तरी बर्दिबासमा आफ्नो दम्पतीले निर्माण गरेको मुसहर बस्तीका बालबालिकाका साथ जन्मदिन मनाएकी छिन्।

उनले त्यहाँ रहेका मुसहर बालबालिकालाई टिफिन बक्स वितरण गरेर जन्म दिन मनाएकी हुन्। मुसहर बालबालिकाले पनि सम्मान र शुभेच्छासहित कुञ्जनाको जन्मदिनलाई विशेष बनाइदिए। उनीहरूले गरेको सम्मानले आफूलाई भावुक बनाएको कुञ्जना घिमिरेले बताइन्।

मुसहर बस्तीका बालबालिकामा आएको परिर्वतन देखेर आफूहरू भावुक भएको उनले प्रस्ट्याइन्। ‘जुन परिवर्तनको अपेक्षा गरेका थियौं, त्यो देख्न पाउँदाको आनन्द शब्दमा व्यक्त गर्नै सकिन्न’, कुञ्जनाले भनिन्– ‘मुसहर बालबालिका नियमित पढ्न थालेका छन्। तर उनीहरूलाई घरबाट खाजा लैजान समस्या छ। त्यसैले जन्मदिनमा हुने खर्चले टिफिन बक्ससँगै केही शैक्षिक सामग्री उपलब्ध गराएकी हुँ।’

सरसफाइ अभियानका क्रममा मुसहर बस्ती पुगेका धुर्मुस सुन्तलीले त्यहाँ बस्ती निर्मँण गरी गत वैशाखमा ५३ परिवार मुसहरका लागि एकीकृत बस्ती हस्तान्तरण गरेका थिए। बस्ती हस्तान्तरण गरिसक्दा मुसहरहरूप्रतिको माया अझै बढेर गएकाले जन्मदिन मनाउन हास्य अभिनेता पति सीताराम कट्टेल ‘धुर्मुस’ का साथ उनी बर्दिबास पुगेकी हुन्।

सुन्तलीको जन्मदिनमा मुसहर बस्ती अवलोकनका लागि कलाकारहरू शंकर बिसी, पशुपति शर्मा, मञ्जु पौडेल, रमेशराज भट्टराई, जानुका केसी, पल्पसा डंगोल, सुशीला निरौला, जुनु रिजाल, रामचन्द्र काफ्लेलगायत पनि मुसहर बस्ती पुगेका थिए। मुसहर बस्ती निर्माणपश्चात सीताराम कुञ्जनाको दम्पती नमुना नेपाल निर्माणको तयारीमा जुटेका छन्।