मिसेस नेपाल आइकन छानिँदै

0
Shares

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगितालाई आफ्नो संस्थाकै महत्वपूर्ण प्रतियोगिताका रूपमा प्रस्तुत गर्दै आएको एएनपी मिडिया हाउस, ललितपुरले हरेक वर्षझैं यस वर्ष पनि मिसेस नेपाल आइकन २०१७ आयोजना गर्ने भएको छ।

आयोजक एएनपी मिडिया हाउसका पबन्ध निर्देशक लबबहादुर कार्कीका अनुसार विवाहित महिलाहरूलाई चुलोचौकोमा सीमित नभई उनीहरूको दायरा विस्तार र समाजप्रतिको थप जिम्मेवारीबोधका लागि प्रोत्साहित गर्ने उद्देश्यले चौथो संस्करणको मिसेस नेपाल आइकन २०१७ आयोजना गर्न लागिएको हो। प्रतियोगिताबाट विवाहित महिलाहरूको आत्मविश्वास र व्यक्तित्व विकासमा सघाउ पुर्याउने विश्वास पनि उनले व्यक्त गरे।

मिसेस नेपाल आइकन २०१७ प्रतियोगितामा राजधानीका विभिन्न स्थानमा बस्दै आएका विविध पेसाकर्मी तथा गृहिणीहरू अस्मिता बयलकोटी, सोनु मल्ल खाँण, सुमिना श्रेष्ठ, मिनु पाण्डे, रचना श्रेष्ठ, ममता महर्जन श्रेष्ठ, जयन्ती श्रेष्ठ उप्रेती, पार्वती केसी शाही, दिव्या पौडेल, आरोही बिके दुलाल, सुजना श्रेष्ठ, विना बराल प्याकुरेल, रमा महर्जन, सविता पाख्रिन, सनिसा राई गुरुङ, समृद्धि सुब्बा, अञ्जना लिम्बु राई, शिल्पा बस्नेत, हीरा बास्तोला, विमला बिके, सन्ध्या शाही, अप्सरा खड्का अधिकारी, तारा ओली, सुस्मिता बुढाथोकी, लक्ष्मी नगरकोटी, सुष्मा विश्वकर्मा, वर्षा कार्की, सुमिन केसी, अञ्जता खाती क्षत्री, संगीता भट्टराई दाहाल, सुभद्रा मैनाली ढुंगेल, सरला केसी, सिर्जना शाक्य, सरिता लामा र सोनी श्रेष्ठ अन्तिम स्पर्धाका लागि छानिएको कार्यक्रम संयोजक शम्भुप्रसाद रेग्मीले जानकारी गराए।

कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालनमा हुने प्रतियोगिता आगामी श्रावण ८ गते आइतबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघर सम्पन्न हुनेछ। प्रतियोगितालाई काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ।

प्रतियोगिताका सहभागी महिलाहरूलाई विभिन्न क्षेत्रका विज्ञहरूले प्रतिभा र व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस र समय व्यवस्थापन तथा स्टेज प्रस्तुतिसम्बन्धी प्रशिक्ष प्रदान गरिइरहेको आयोजक लबबहादुर कार्कीले जानकारी गराए।