जर्मनीले फाइनलमा चिलीसँग खेल्ने


लन्डन, (एजेन्सी)
रसियामा जारी फिफा कन्फेडेरेसन कपको फाइनलमा विश्वविजेता जर्मनीले स्थान पक्का गर्दै आइतबार कोपा अमेरिका विजेता चिलीसँग खेल्ने भएको छ।

प्रतियोगिता अन्तर्गत बिहीबार भएको दोस्रो सेमिफाइन खेलमा मेक्सिकोलाई ४–१ ले पराजित गर्दै जर्मनीले फाइनलमा स्थान सुरक्षित गर्यो। जर्मनीको जितमा लियोन गोरेट्जकाले दुई गोलको योगदान गरेका थिए। खेलको छैटौं मिनेटमा नै गोरेट्जकाले गोल गर्दै जर्मनीको खाता खोलेका थिए।

पहिलो गोल बेहोरेर सम्हालिन नपाउँदै मेक्सिकोले दोस्रो गोल पनि बेहोर्नुपर्यो। खेलको आठौ मिनेटमा गोरेट्जकाले मेक्सिकोका गोलरक्षकलाई बिट गर्र्दै व्यक्तिगत गोलसंख्या दुई पुर्याए। त्यसपछि भने मेक्सिकोले सुधारिएको खेल प्रस्तुत गर्दै मौकाहरु सिर्जना गरे पनि पहिलो हाफसम्म गोलबाट वञ्चित नै रहनुपर्यो।

खेलमा फर्कन प्रयासरत मेक्सिकोले दोस्रो हाफमा पनि कडा चुनौती प्रस्तुत गरेका थिए। तर थप गोल भने जर्मनीले नै गर्यो। खेलको ५९औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै जर्मनीको गोलसंख्या तीन पुर्याए।

यता गोलका लागि भौतारिरहेका मेक्सिकोले ८९औं मिनेटमा फ्रिकिक हान्ने अवसर प्राप्त गर्यो। करिब ३५ यार्डको दूरीबाट मार्के फाबियानले शक्तिशाली प्रहार गरेको उक्त बलले जर्मनीको गोलरक्षकलाई कुनै मौका नै नदिई जाली चुमेपछि खेलस्थिति ३–१ बनेको थियो। तर खेलमा थपिएको इंज्युरी समयको पहिलो मिनेटमा नै अमिन युनेसले गोल गरेपछि जर्मनीले खेल ४–१ ले आफ्नो पक्षमा पार्यो।