घरमा कुरा भइसक्यो, बिहे त छवि ओझासँगै गर्ने हो – शिल्पा पोखरेल

0
Shares

रश्मी थापा

मोडल तथा नायिका शिल्पा पोखरेल म्युजिक भिडियो मोडलिङको क्षेत्रमा मोडल क्विनका रूपमा छाएकी थिइन्। यी क्विनलाई निर्माता छवि ओझाले रेखा थापासँगको सम्बन्ध बिग्रिएपछि लज्जा नामक फिल्ममा नायिका बनाए। शिल्पाले त्यसपछि अरू फिल्ममा पनि काम गरिन्। तर, मोडलिङमा जस्तो क्विन हुनसकेकी छैनन्, फिल्म क्षेत्रमा छाउने प्रयास गरिरहेकी छिन्। फिल्ममा आएपछि म्युजिक भिडियोमा कम देखिन थालेकी शिल्पाको सक्रियता म्युजिक भिडियोतिर फेरी बढेको छ। छवि ओझाको खोज मानिएकी उनको छविसँगै बिहे हुने चर्चा पनि छन्। यिनै वियषमा उनलाई गरिएको ५ प्रश्न यहाँ प्रस्तुत छः

आफैं सहनिर्मात्री भएर मंगलम् नामक फिल्म बनाइरहनुभएको छ, फिल्म पाउन छोडेर त होइन नि ?

हा..हा..हा.., त्यस्तो कहाँ हुन्छ? फिल्ममा काम गरिरहेको छु। शरणार्थी, भिलेन जस्ता मुभिमा काम गरें। एक्टिङ मात्र कति गर्ने भनेर निर्माणतर्फ पनि लागेकी हुँ। अर्को कुरा म विदेश पलायन हुन चाहन्न। नेपालमै बस्न चाहन्छु। एक्टिङ मात्र सधैं गरिरहन सक्न्नि। पछि त मेरो गाला चाउरी पर्छ। अनि त्यो समयमा मलाई अरूले काम दिँदैनन्। त्यस कारण पनि मैले अहिलेदेखि नै निर्माणमा हात हालेकी हुँ। अरू फिल्ममा काम नै नपाएर भने होइन।

निर्देशक गर्ने योजना पनि छ कि ?

म एक्टिङमा नै पोख्त भइसकेको छैन। त्यसमाथि त निर्देशन गर्नका लागि धेरै नलेज चाहिन्छ। मलाई निर्देशनमा त्यस्तो नलेज छैन। त्यसैले मैले अहिले नै फिल्म निर्देशनको बारेमा केही पनि सोचेको छैन। पछि गएर चाहिँ के हुन्छ हेरौं।

म्युजिक भिडियोबाट फिल्ममा आउनुभयो, फेरी म्युजिक भिडियोमै फर्किनुभएको छ, किन हो ?

त्यस्तो होइन। म फिल्म र म्युजिक भिडियो दुवैमा काम गरिरहेकी छु। फिल्म छोडेर म्युजिक भिडियोमा फर्केको छैन। दुवै कामलाई समय दिइरहेको छु। म्युजिक भिडियोमा एक दिनको काम हुन्छ। एउटा फिल्मका लागि ४०⁄४५ दिन लाग्छ। म्युजिक भिडियो छोटो समयमा रिलिज हुन्छ भने फिल्म रिलिज हुन लामै समय पर्खनुपर्ने हुन्छ। हिजोआज राम्रा म्युजिक भिडियोमा अफर आइरहेकाले पनि त्यसमा काम गरिरहेको हो। फिल्मको सवालमा पनि राम्रा खालका फिल्ममा अफर आए भने मात्र गर्ने भनेर बसेको हो। अफर आए जति फिल्ममा काम गरेर संख्यामात्र बढाउन चाहन्न। त्यसैले आफूले न्याय दिन सक्ने खालको पात्रको पर्खाइमा छु। काम गर्ने सवालमा कोसँग सजिलो भन्ने पनि हुन्छ। मचाहिँ निर्देशक नवल नेपनलसँग काम गर्दा सहज महसुस गर्छु।

म्युजिक भिडियोबाट राम्रो भइरहेको छ कि फिल्मबाट ?

कमाईको हिसाबले त म्युजिक भिडियोबाट नै फाइदा हुन्छ। अहिले काम गर्यो भने भरे नै पैसा पाइन्छ। फिल्ममा काम गर्दा भने केही समय कुर्नुपर्ने हुन्छ। तर, पनि दुवैबाट म स्याटिस्फाई छु। तर, एक्टिङको हिसाबले कुरा गर्नुपर्दा भने फिल्ममा आफ्नो एक्टिङ धेरै समय देखाउन पाइन्छ।

निर्माता छवि ओझास”ग बिहे गर्ने चर्चा निकै चल्यो, वास्तविकताचाहिँ के हो ?

बिहे त छवि ओझासँगै गर्ने हो। घरमा ममीहरुसँग कुरा पनि भइकेको छ। लगन मात्र जुर्न बाँकी हो। लगन कहिले जुर्छ थाहा छैन।