हिरो होइन, कलाकार बन्न चाहन्छन् नवीन

0
Shares

 

फिल्म राहदानीबाट नेपाली फिल्मी जगत्मा प्रवेश गरेका बाग्लुङका नवीन लम्साल आफ्नो आउँदै गरेको फिल्म कारखानालाई लिएर उत्साहित छन्। ‘कारखानामा मेरो दोहोरो भूमिका छ। म नायिका वर्षा शिवाकोटीसँग एज अ लभर ब्वाईको रूपमा छु, भोलि शुक्रबारबाट रिलिजमा आउन लागेको फिल्मबारे नवीनले भने– ‘फिल्ममा मेरो दोहोरो भूमिका देख्न सकिन्छ।’
पोखरामा स्कुल लेभलको पढाइ पूरा गरी उच्च शिक्षा अध्ययनका लागि काठमाडौं हानिएका उनले फिल्मलाई नै विषय बनाएर पढे। अनि करियर पनि फिल्मलाई बनाउने प्रयास गरिरहेका छन्। ‘काठमाडौं आएपछि इन्जिनियरिङको लागि ख्वपः कलेजमा भर्ना भएँ। मेरो रोजाइको विषय त्यो थिएन। ड्याडीको इच्छा पूरा गर्न इन्जिनियरिङ ज्वाइन गरेको थिएँ’, नवीनले नेपाल समाचारपत्रको कार्यालयमा सुनाए– ‘तर, पछि ड्याडीको चाहनामा बाँच्ने कि आफ्नो चाहनामा बाँच्ने भन्ने लाग्यो। त्यसैले इन्जिनियरिङ पूरा गरेपछि ओस्कार कलेज अफ फिल्म स्टडीमा पढ्न थालें। त्यही पढ्दापढ्दै मैले पत्रकार डब्बु क्षत्रीले निर्देशन गर्नुभएको फिल्म राहदानीमा काम गरें। अहिले म काम गरिरहेको देखेर ड्याडीममी सबैजना मेरो फिल्डबाट खुसी हुनुहुन्छ। म पनि खुसी र सन्तुष्ट छु।’

फिल्ममा अभिनय गर्नुअघिदेखि नै उनी म्युजिक भिडियो, विज्ञापन आदिमा काम गर्थे। ५ वर्षको अवधिमा ६० भन्दा बढी म्युजिक भिडियो, ३ दर्जनमाथि विज्ञापन र केही टेलिसिरियलमा अभिनय गरेको बताउने उनले विद्यालयस्तरदेखि विभिन्न अवसरमा आयोजना हुने नाटकको माध्मबाट अभिनयको शुरुआत गरेको सुनाए।
‘अभिनयका अलावा नृत्य, खेलकुद र घुमघाम पनि मेरो रुचिको विषय हो। कलेज पढ्दाको समय म बिहान कलेज जान्थें। दिउँसो मोडलिङ क्लास जान्थें, बेलुकीको समय डान्स र एक्सन क्लास जान्थें यसरी आफूलाई सबैतिरबाट तयारी गराउनका लागि पनि आफ्नो समय म्यानेज गरिरहेको थिएँ’, उनी भन्छन्– ‘यसबाट फिल्ममा काम गर्न सजिलो पनि भइरहेको छ।’

नयाँ फिल्म गर्दै गरेका उनी आगामी दिनमा पनि नेपाली फिल्मी क्षेत्रमा नै निरन्तरता दिने उद्देश्यले आएको बताउँछन्। ‘म हिरोभन्दा पनि कलाकरको रूपमा फिल्म क्षेत्रमा स्थापित हुन चाहन्छु –भूषण दाहालको ओपन विन्डोमासमेत काम गरेका नवीन भन्छन्।