रुपन्देहीमा शान्तिपूर्ण रुपमा ७० प्रतिशत मतदान


यमलाल भुसाल, बुटवल । स्थानीय तहको निर्वाचन अन्तरगत दोस्रो चरणमा बुधबार प्रदेश नं. १, ५ र ७ का अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।

त्यसैगरी रुपन्देहीमा पनि शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । बिहान सातबजेदेखि सुरु भएको निर्वाचनमा करिव ७० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख होमनाथ गौतमले जानकारी दिनुभयो ।

 

एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० वटा गाउँपालिका गरी १६ वटा स्थानीय तह रहेको रुपन्देही जिल्लामा ४ लाख ६२ हजार ५ सय ८६ मतदाता छन् । वर्षातका कारण केही स्थानमा केही समय ढिलोगरी मतदान प्रारम्भ गरिएको थियो । यद्यपी मतदानका लागि मतदाता भने उत्साहका साथ सहभागि भएका थिए ।

 

१६ वटा स्थानीय तहमा १५५ वटा वडामा ५४३ मतदान केन्द्र निर्धारण गरी मतदानको तयारी गरिएको थियो । त्यसमध्ये कोटहीमाईको वडा नं. १ मा माओवादी केन्द्रबाट खुल्ला सदस्यका उम्मदेवार मुराली मल्लाहको आईतबार राती निधन भएपछि दुई दिन पछि सारिएको छ ।

 

रुपन्देहीमा भएको निर्वाचन शान्तिपूण रुपमा उत्साहका साथ सम्पन्न भएको क्षेत्रीय प्रशासक बेगेन्द्रराज शर्मा पौडयालले जानकारी गराउनु भयो ।

 

बिहान सातबजेदेखि मतदान सुरु हुने भएपनि दिउँसोको गर्मी छल्नकालागि मतदाता भने सबेरैदेखि मतदान केन्द्रमा आएर लामवद्ध भएर बसेका थिए । मतदानकालागि बृद्ध तथा अपाङ्गता भएका व्यक्तिलाई छुट्टै व्यबस्था भएपनि मतदान केन्द्रसम्म जान आउन उनीहरुलाई समस्या भएको थियो । यद्यपी उनीहरु समेत मतदानमा उत्साहकासाथ सहभागि भएका थिए ।

 

सम्पन्न मतदानबाट रुपन्देही जिल्लामा ८ सय ७ जना जनप्रतिनिधि चुनिनेछन् । जसका लागि ४ हजार ५ सय ६२ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए ।