सुनील थापा अब शेरबहादुर

0
Shares

 

काठमाडौंदेखि बलिउडसम्म छाएका अभिनेता सुनील थापा अब शेरबहादुरका रूपमा देखिने भएका छन्। चिनोको राते काइँलादेखि बलिउडको मेरिकोमको बक्सिङ गुरूका रूपमासमेत लोकप्रियता कमाएका अभिनेता थापा निर्माणाधीन फिल्म शेरबहादुरको शीर्ष भूमिकामा देखिन लागेका हुन्।

निर्देशक आर राजवंशीको डेब्यु निर्देशनमा बन्न शेरबहादुरको मंगलबार राजधानीमा आयोजित एक समारोहबीच शुभ मुहूर्त गरिएको छ। बलिउडको बायोपिक मेरिकोमबाट पुनः बलिउड पर्दामा देखिएका थापा सो फिल्मको चर्चापछि हिजोआज धेरैजसो बलिउडकै विभिन्न फिल्ममा व्यस्त छन्। ४ महिनाअघि मुम्बईमै रहँदा शेरबहादुर बन्ने अफर आएपछि नेपाल फर्केर कथा सुनी फर्किएको उलने बताए। ‘शेरबहादुरको भूमिकाका लागि अफर आयो। नेपाल फर्किएर स्क्रिप्ट पढेपछि कथा मन पर्यो’, सुनीलले सुनाए– ‘शेरबहादुरको रोलले आम दर्शकलाई मेरो राते काइँला र बक्सिङ गुरूको चरित्रलाई पनि बिर्साइदिनेछ।’ फिल्ममा आफू रिटायर्ड लाहुरेको भूमिकामा देखिन लागेको उनले बताए।
कार्यक्रममा निर्देशक राजवंशीले सेट निर्माण गरेर पूरै फिल्म सेटमै खिचिने बताए। ‘धरानको लाहुरे परिवेशमा दुई युवायुवतीको प्रेम र त्यसमा आइपर्ने उतार–चढावलाई यसमा देखाइनेछ’ –उनले भने।

कार्यक्रममा ख्यातिप्राप्त हास्य अभिनेता हरिवंश आचार्यले फिल्मको नाम अनौठो भएकाले आम दर्शकले मनपराउने बताए। मंगलबारबाटै सुटिङ शुरु गरिएको फिल्ममा सुनीलसँगै कर्मा, मेनुका प्रधान र रवीन्द्र झा प्रमुख भूमिकामा रहनेछन्। धिरज प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्म गौरीशंकर धुजु र धिरज राजवंशीले निर्माण गर्न लागेका हुन्।