निर्वाचन प्रचारमा विभिन्न पार्टीका नेताहरुको सक्रियता


इटहरी, ११ असार । स्थानीय तह निर्वाचनका लागि पार्टीहरुले आफ्नो पक्षमा मत माग्न र मतदाताहरुलाई आफ्नो पार्टीका उम्मेदवारलाई विजय गराउने आग्रह सहित चुनावी सभाहरुमा सहभागी भई मत माग्ने अन्तिम कार्यमा आज विभिन्न दलका नेताहरुको सक्रियता बढेको छ ।

यही क्रममा नेकपा (एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले धरानको भानुचोकमा आयोजित अन्तिम चुनावी सभालाई सम्वोधन गर्नुहुँदै उहाँले एमालेको ऐतिहासिक जित रहेको धरानको साख र इज्जत जोगाउनका लागि एमाले बाहेक उम्मेदवारहरुलाई धरानबासीले नजिताउने कुरामा हामी ढुक्क छाँै भन्नुभयो ।

पूर्व प्रधानमन्त्री नेपालले प्रदेश नम्वर १ मा रहेका तराई, पहाड र हिमाली जिल्लाहरुमा नेकपा (एमाले) प्रति आस्था भरोसा र विश्वास समेत रहेकाले नयाँ संविधानको कार्यान्वयनसँगै आम नेपाली जनताको भाग्य एवम् भविष्यको सुनिश्चितताका लागि सूर्यवाहकलाई जिताउन जरुरी भएको हो भन्नुभयो ।

सो अवसरमा अन्य नेतासँगै प्रमुखका उम्मेदवार तारा सुब्बा, उपप्रमुख उम्मेदवार मञ्जु भण्डारी लगायतले आआफ्नो धारणा राख्नुहुँदै धरान उपमहानगरमा नेकपा (एमाले)लाई जिताउनु पर्ने कुरामा जोड दिनुभएको थियो ।

यता इटहरीमा नेपाली काङ्ग्रेसले आयोजना गरेको अन्तिम चुनावी सभालाई सम्वोधन गर्नुहुँदै प्रमुख वक्ता पूर्व अर्थमन्त्री एवम नेता महेश आचार्यले इटहरी पूर्वकै महत्वपूर्ण उदीयमान शहरलाई अझ समृद्ध पार्नका लागि नेपाली काङ्ग्रेसबाटमात्र सम्भव रहेकाले इटहरीवासीले काङ्ग्रेसलाई जिताउन सकेमात्र आफुले आफैँमाथि न्याय गरेको सावित हुनेछ भन्नुभयो ।

नेता आचार्यले शिक्षा, स्वास्थ्य, कृषि, व्यापार, उद्योग र उद्यमशीलताका लागि इटहरीले अहिले प्राप्त गरेको उचाई साँच्चिकै इटहरीका प्रजातन्त्रप्रेमी नागरिकहरुबाट सम्भव भएकाले अझै यसलाई अघि बढाउन काङ्ग्रेसका प्रमुख पदका उम्मेदवार रोहित प्रसाँईलाई तथा उपप्रमुख उम्मेदवार बिमला ढकालको नेतृत्वले अझ अघिबढ्ने विश्वास समेत ब्यक्त गर्नुभयो ।

सो अवसरमा काङ्ग्रेस नेता प्रदिप गिरी तथा अन्य नेताहरु हेमकर्ण पौडेल, राजिव ढुङ्गाना सिजन गुरुङ्ग, मणिराम श्रेष्ठ, विकास केसी तथा उम्मेदवारहरु रोहित प्रसाँई र बिमला ढकाल लगायतले बोल्नु भएको थियो । रासस