मतदाता समक्ष सिटौलाको आग्रह


मेचीनगर। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सिङ्गो नेपाललाई एकताको सूत्रमा बाधेर विकास र समृद्धि हासिल गर्न नेपाली कांग्रेसका उम्मेदवारहरूलाई स्थानीय तहको निर्वाचनमा विजयी बनाउन मतदातासमक्ष आग्रह गर्नुभएको छ।

नेपाली कांग्रेस मेचीनगर नगर समितिद्वारा शनिबार झापाको काँकडभिट्टामा आयोजित बृहत् आमसभामा उहाँले नेपाली कांग्रेस हिमाल, पहाड, तराईलाई जोड्दै भौगोलिक, जातीय, भाषिक तथा सांस्कृतिक एकता चाहने पार्टी भएको बताउनुभयो। उहाँले केही राजनीतिक दलहरू देशमा सामाजिक सद्भाव भड्काउने तथा दलहरूका बीचमा र सोमार्फत् जनताबीचमा कलह उत्पन्न गर्ने मार्गमा उन्मुख रहेको बेला नेपाली कांग्रेस यही संविधानलाई सर्वस्वीकार्य बनाएर यसैमार्फत् मुलुकको विकास र समृद्धिमा लाग्न चाहेको बताउनुभयो।

‘यो चुनावलाई सामान्य ढंगले नलिनुहोला’, नेता सिटौलाले भन्नुभयो– ‘कांग्रेसको नेतृत्वमा देशले जितेको छ तर कांग्रेसको हार हुँदा देशले हारेको छ।’ उहाँले लोकतन्त्र, संविधान र जनताप्रतिको एमालेको निष्ठामा प्रश्न उठाउँदै भन्नुभयो– ‘नेपाली कांग्रेसले केपी ओलीको साथबाट प्रचण्डलाई अलग गरेर प्रचण्डको नेतृत्वमा सरकार बनाएपछि मात्र स्थानीय तहको निर्वाचन सम्भव भएको हो।’
नेता सिटौलाले कांग्रेसको अग्रसरतामा पहिलो चरणको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न भएको र दोस्रो चरणको निर्वाचन पनि सफल हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो। कांग्रेस नेतृत्वको सरकारले असन्तुष्ट दललाई पनि विश्वासमा लिएर प्रदेश नं. २ को निर्वाचन पनि शान्तिपूर्णरूपमा सम्पन्न गर्ने
उहाँले बताउनुभयो।

सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झापा झरेरसँगै चुनाव लड्न चुनौती दिनुभएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनपूर्व सोही ठाउँको चुनावी सभालाई सम्बोधन गर्दै आफू भक्तपुर बसाइँ सरेको भन्ने आशयको शर्माको खुलापत्रप्रति संकेत गर्दै चुनाव लड्न यही क्षेत्र आउनसक्ने संकेत गर्नुभएको थियो। शर्माले नेपाली कांग्रेसले जितेमा नगरपालिकासँग आम नगरबासीको हृदय जोडिने बताउनुभयो।
युवा नेता शर्माले दोस्रो र तेस्रो चरणको निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्ने दाबी गर्नुभयो। उहाँले नेपाली कांग्रेसको जितसँगै पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रवेशको अनुभूति दिलाउने गरी बुद्धको सबैभन्दा ठूलो मूर्ति
राखिने बताउनुभयो।