कहाँ हराए यी सेलिब्रेटी ?


 

मेयरसँग कुरा गरेर काम गर्दैछुः थापा

काठमाडौं, (नेस)। पहिलो चरणको निर्वाचनमा केही उम्मेदवार अनपेक्षित चर्चामा आए पनि अहिले लगभग सेलाएको अवस्था रहेका छन्। आखिर कता लागे त ती सेलिब्रेटी ? पहिलो चरणको निर्वाचनमा पराजय भोगे पनि केही उम्मेदवार एकाएक सेलिब्रेटी भएका थिए। तर, दोस्रो चरणको निर्वाचन आउँदा÷नआउँदै त्यो चर्चा सेलाइसकेको छ । यसपालिको दोस्रो चरणको निर्वाचनमा केहीको नाम फाटफुट सुनिए पनि पहिलाको जस्तो चर्चा भने हुन सकिरहेको छैन। पहिलो चरणमा चर्चामा आउने मध्येकी एक हुन्– विवेकशील नेपाली दलको तर्फबाट काठमाडौं महानगरपालिका मेयर प्रत्यासी रञ्जु दर्शना।

यतिबेला उनी चुनावी प्रचारमा जिल्ला दौडाहामा छन्। दर्शनाले झापा, मोरङ, इटहरी, रूपन्देही, कैलाली, कञ्चनपुरलगायतका स्थानमा पुगेर नागरिकसँग अन्तक्रिया गरेको बताइन् । उनले नेपाल समाचारपत्रसँगको कुराकानीमा भनिन्– ‘म देश दौडाहामा थिएँ। भर्खरै काठमाडौं आइपुगें। चुनावी उत्साह भर्न र आफ्ना उम्मेदवारहरूको सहयोगका लागी जिल्ला जिल्ला पुगेर फर्किएँ।’ आफू १४ गतेसम्म चुनावी अभियानमै व्यस्त रहने र काठमाडौंलाई समृद्ध बनाउन आफ्नो अभियानलाई जारी राख्ने उनले बताइन्।
यसै गरी काठमाडौं महानगरपालिकामै मेयरमा पराजित साझा पार्टीका किशोर थापा आजभोलि पेसागत काममा आफू व्यस्त रहेको बताउँछन्। उनले हाल आफू शहरी विकाससम्बन्धी अध्ययन अनुसन्धानमा लागि परेको नेपाल समाचारपत्रलाई जानकारी गराए। उनले नेपाल समाचारपत्रसँग भने– ‘काठमाडौंलाई समृद्व बनाउन मेयर विद्यासुन्दरजीसँग कुरा भएको छ। अब केही समयपछि छलफल गरेर योजनासहित दिगो शहरी विकासका कार्यक्रमहरू ल्याउने तयारीमै छौं।’