बब्लुसँगै बोकेदारी

0
Shares

 

२०५३⁄०५४ सालतिर कमेडी गीतमार्फत् कलाक्षेत्रमा होमिएका हास्य कलाकार तथा कमेडी गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदारी’ आज आएर एक्लो कमेडी गायकसरह हुन पुगेका छन्। उनले अहिलेसम्म कमेडी गीतका एक दर्जन एल्बम बजारमा ल्याइसकेका छन्।

उनको २०५६ सालमा पहिलो एल्बम इटहरी डट कम बजारमा आएको थियो भने उनको पहिलो गीत सुन है साथी मेरो कहानी मलाई नि आयो झिल्के जवानी थियो। उनको मर्छु कि क्या हो एल्बमको ह्याङमा हो ह्याङमा भन्नेले पनि राम्रै चर्चा पायो। चौथो एल्बमस्वरूप उनले बोके दारी बजारमा ल्याएपछि भने उनले पछाडि फर्केर हेर्नुपरेको छैन। यसबाटै उनको नाममा बोकेदारी थपिन पुग्यो। त्यसपछि उनको ए बा किन्देऊ न भटभटेले पनि उनलाई नयाँ परिचय दिलायो। गत वर्ष आएको पागल बनायो नारायण पापी फेसबुकले बोलको गीत भने राजधानीको एउटा टेलिभिजनले ब्यान्ड गरिदियो।

कमेडी गायनमा अन्य केही प्रतिभा अगाडि आए पनि निरन्तरता दिन भने सकेनन्। त्यसैले पनि उनले यस क्षेत्रमा एक क्षत्र राज गर्न सफल भए। उनले पछिल्लो १२औं एल्बम बब्लुले समाजमा भएका विकृति विसंगतिलाई उठाएका थिए। बब्लुमा १० वटा गीत समावेश छन्। नलगाऊ छोटा कपडा, ओके छ त, डल्लेकी बहिनीले, बाख्रा स्टाइल, कलियुगको धर्मलगायतका गीत यो एल्बमका बढी मन पराइएका गीत हुन्। एल्बममा स्वर, संगीत र शब्द सबै उनकै रहेको छ भने गीतको म्युजिक भिडियो निर्देशन पनि उनले नै गरेका छन्।

विकृति विसंगतिका कुरालाई मीठो शैलीमा गायकी शैलीमा, मान्छेलाई पच्ने खालको तरिकाले, समाजमा कस्ता घटना हुन्छन्, तीनलाई टप्प टिपेर प्रस्तुत गर्न सिपालु उनका गीतले पनि भिन्दै शैलीमा लोकप्रियता पाउने गरेको छ।
त्यसैले पनि देशमा मात्र होइन देशबाहिर पनि त्यतिकै रुचाइएका छन् उनका गीत । भारतको नेपाली भाषी भएका ठाउँहरुमा पनि बढी मन पराइने नेपाली गीतमा उनका गीत अग्रस्थानमा आउन सफल भएका छन्।
उनी आफ्ना प्रायः सबै गीतका म्युजिक भिडियामा आफैं देखिने गर्छन्। त्यसो त आफैं गीत पनि लेख्ने गर्छन्। उनले माइती नामक फिल्मको गीत इटहरी बजारैमा लेखेका छन् भन् मनै त हो, संगम, त्रिवेणीजस्ता फिल्मका पनि गीतकार पनि हुन् उनी। कुनै समयमा फिल्ममा समेत सक्रिय उनले केही फिल्ममा मुख्य सहायक निर्देशकका रूपमा समेत अभिनय गरेका छन्। ‘फिल्ममा काम गर्दा म आफ्नो गन्तव्यभन्दा बाहिर गइरहेको छु भन्ने लाग्यो र हामफालें यतातिर’ –उनी भन्छन्।

कस्ता शब्द राख्ने, कस्तो तरिकाले प्रस्तुत गर्ने भन्ने कुरा गीत लेख्दा पहिला कन्सेप्ट बनाउने अनि त्यसलाई उतार्ने गरेको बताउने श्रीकृष्ण अर्कोलाई भन्दा नबुझ्ला, आफ्नो कन्सेप्ट नमरोस् भनेर आफैंले अभिनय पनि गर्ने गरेको बताउँछन्। ‘फिल्मको काम दुःखको समयमा बाँच्नका लागि गरेको काम थियो। केही कुरा पनि सिकियो। अहिले गरेको कामचाहिँ बाच्नका लागि भन्दा पनि हास्नका लागि गरेको काम हो। सबैलाई हसाउँ आफू पनि हासौं भन्ने हो’, उनी भन्छन्– ‘गाउनु मेरो रहर मात्र नभएर मैले आफ्नो भविष्य यसैमा देखेर यसैलाई लक्ष्य बनाएर अघि बढें।’

धेरैको सपना काठमाडौंमै केही गरौं, ठूलो ठाउँ हो त्यहाँबाट छिटो क्लिक हुन सकिन्छ भन्ने हुन्छ। तर, श्रीकृष्णले आफ्नै ठाउँबाट शुरु गरे र अहिले सफल भएका छन्। ‘काठमाडौंमा मात्र बसेर मैले दिन खोजेका कुरा दिन नसक्ने भएँ र म फर्किएँ। मैले जुन गाउँका टिपिकल कुरा गर्छु त्यो त काठमाडौंमा बसेर सम्भव थिएन’, उनको दाबी छ– ‘कलाकारका लागि काठमाडौं बस्ने ठाउँ नै होइन।’
पछिल्लो समयमा एल्बम बेचेर आर्थिक समृद्धिको सपना पूरा नहुने बताउने कृष्ण एल्बम चलेपछि लगानीचाहिँ उठ्ने बताउँछन्। ‘तर, स्टेज कार्यक्रमले चाहिँ राम्रै हुन्छ’ –उनको अनुभव छ।