विपक्षीको भ्रामक प्रचारबाजीप्रति एमालेको गम्भीर ध्यानाकर्षण

0
Shares

सीताराम चौधरी,कपिलवस्तु ।
विपक्षी दलहरुले आफ्नो पार्टीको गलत प्रचार गरेकोप्रति नेकपा एमाले शिवराज नगर कमिटीले गम्भीर आपत्ति प्रकट गरेको छ ।
अन्य पार्टीहरुले उपमेयरकी उम्मेदवार शिवकुमारी चौधरीको बारेमा भ्रामक, गलत र निराधार प्रचार गरेको भन्दै विपक्षी दलहरुको अफवाहप्रति प्रेस विज्ञप्तीमार्फत घोर भ्रत्सना गरेको हो ।

पार्टी कार्यालय चन्द्रौटामा पत्रकार सम्मेलन गरी एमालेले विपक्षीबाट समाजमा फैलाइएको गलत प्रचारबाजीको खण्डन गरेको हो ।

उपमेयरकी उम्मेदवार शिवकुमारी चौधरीको बारेमा गरेको गलत प्रचारबाजीबारे निर्वाचन परिचालन मूल कमिटी संयोजक क्षेत्रबहादुर खत्रीले प्रेस विज्ञप्तीमार्फत पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको हो ।

विपक्षी दलहरुले शिवकुमारीको चुनाव चिन्ह कतै सियो त कतै काग भन्दै जनतामाझ गलत प्रचार गर्दै हिँडेको जनता एवं शुभचिन्तकहरुबाट एमालेसमक्ष गुनासो आएको निर्वाचन परिचालन मूल कमिटी संयोजक खत्रीले जानकारी गराउनुभयो ।

यस्तै एमालेले शिवकुमारीलाई उपमेयर पदबाट हटाएर स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको जस्ता विपक्षीले अफवाह फैलाएको उहाँले जनाउनुभयो ।

एमाले मुलुकभर अग्रपंक्तिमा आउने देखिसकेपछि विपक्षीहरु अत्तालिएको विज्ञप्तीमा उल्लेख छ । केही विपक्षी दलबाट पार्टी तथा उम्मेदवारको मतमाथि असर पुग्नेगरी अनावश्यक अफवाह फैलाउने जस्ता घृणित कार्य गरेकोप्रति एमालेले विज्ञप्तीमार्फत कडा आपत्ति प्रकट गरेको छ ।

 

सबै दलले आ–आफ्नो तरिकाबाट प्रचारप्रसार गर्ने र मतदातासँग मत माग्ने अधिकार भए तापनि एमाले उपमेयरकी उम्मेदवार शिवकुमारी चौधरीप्रति गलत अफवाह फैलाउने कार्य गरेको भन्दै कडा ध्यानाकर्षण भएको जनाएको छ ।

एमालेकी उपमेयर शिवकुमारीको कुनैपनि राजनैतिक पार्टी तथा स्वतन्त्र उम्मेदवारहरुसँग चुनावी तालमेल भएको खबर भ्रमात्मक, झुठो र निराधार भएको विज्ञप्तीमार्फत खण्डन गरेको छ । एमालेले यस किसिमको अनावश्यक गलत अफवाहको पछि नलाग्न नगरबासीहरुमा अनुरोध गरेको छ ।
यता एमाले उपमेयरकी उम्मेदवार शिवकुमारी चौधरीले आफ्नो पक्षमा जनलहर देखेर विपक्षीले विभिन्न किसिमका झुठा भ्रम फैलायर आफू र आफ्नो पार्टी नेकपा एमालेलाई कमजोर पार्न खोजेको आरोप लगाउनुभएको छ ।

उपमेयरकी उम्मेदवार चौधरीले त्यस्ता अनावश्यक हल्लाको पछि नलाग्न र त्यस्ता अनावश्यक झुठा हल्ला फैलाउने, जनतामाझ भ्रम छर्नेहरु आफैं बढारिने बताउनुभयो । प्रतिपक्षी दलले आफू हार्ने देखेपछि एमालेको चुनाव चिन्हलाई हतियार बनाई आफूमाथि प्रहार गर्न खोजेको उनको आरोप छ ।

शिवराज नगरपालिकामा अहिले एमालेतर्फ जनलहर बढेको देख्दा उपमेयरकी उम्मेदवार शिवकुमारी र मेयरका उम्मेदवार नेत्रराज अधिकारीको नाम बेचेर भोट मागेको चौधरीले बताउनुभयो ।

सबैभन्दा कान्छी उपमेयरकी उम्मेदवार रहेकी २३ वर्षीय शिवकुमारीले शिक्षकको जागिर छाडी अहिले स्थानीय निकायको दोस्रो चरणको निर्वाचनमा होमिनुभएको छ ।

केही गर्छु भन्ने आत्मविश्वासका साथ चुनावी अभियानमा उत्रिनुभएकी शिवकुमारीले शिवराज नगरभित्र रहेको सामाजिक विभेद, लैंगिक हिंसा, मानव तस्करी, अन्याय, अत्याचार, भ्रष्टाचारको विरुद्ध पहिलो कदम चाल्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

साथै शिक्षा, स्वास्थ्य र जीविकोपार्जनका लागि विशेष पहल चाल्ने उहाँको भनाई छ । यसका साथै जनचेतनामूलक, सीपमूलक, विकासे कार्यक्रम जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखी काम गर्ने उहाँले बताउनुभयो ।