व्यावसायिक कृषितर्फ आकर्षण

0
Shares

नेपाल समाचारपत्र,काठमाडौं।

विभिन्न व्यवसायमा लामो समयदेखि क्रियाशील रहँदै आएका उद्यमीको एक समूह व्यावसायिक कृषि फार्मतर्फ आकर्षित भएको छ। नव कृषि विकास कृषि सहकारी संस्थामा आबद्ध २५ शेयर सदस्यको सक्रिय सहभागितामा संस्थाले धादिङको आदमघाटमा व्यावसायिक कुखुरापालनका लागि फारममा लगानी गरेको हो।

कुखुरापालनका साथै व्यावसायिक तरकारी खेती, फूलखेती, बंगुल पालन, माछापालनका साथै त्यस क्षेत्रको कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यसहित धादिङको सिद्धलेक–१ स्थित आदमघाटमा ५६ रोपनी जमीन भाडामा लिएर काम शुरू गरिएको छ।

पहिलो चरणमा हाल कुखुरापालन शुरू गरिने र त्यसका निम्ति टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको नव कृषि विकास कृषि सहकारी संस्थाका अध्यक्ष हरिबहादुर श्रेष्ठले बताउनुभयो। ‘फार्ममा १२ हजार कुखुरा अटाउने गरी टहरा निर्माणको काम भइरहेको छ,’–उहाँले भन्नुभयो। कुखुरा पालनका पहिलो चरणमा निम्ति १ करोड ७० लाख रुपियाँ लगानी हुँदै छ।

संस्थाका अध्यक्ष श्रेष्ठका अनुसार कूल लागतमध्ये सहकारीले ८५ लाख रुपियाँ विश्व बैंकअन्र्गत सञ्चालित कृषि व्यावसायिकरण तथा व्यापारका लागि कार्यक्रम (प्याक्ट) बाट अनुदान पाएको हो भने बाँकी ८५ लाख रुपियाँ नव कृषि विकास कषि सहकारी संस्थाका संस्थापक सदस्यबाट जुटाइएको श्रेष्ठले जानकारी दिनुभयो।

राजधानीलगायत आसपासका क्षेत्रमा कुखुराको मासुको माग उच्च रहने भएकाले त्यसलाई पूर्ति गर्ने उद्देश्य संस्थाको छ। साथै आउँदो दशैंलाई लक्षित गरी पहिलो लटमा कुखुरा उत्पादन गर्ने आफूहरूको लक्ष्य रहेको र त्यस अनुसार काम धमाधम भइरहेको उहाँले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।



सहकार्यमा आधारित कृषि व्यवसाय गर्छौ

तपाईं संस्थाका बारेमा छोटकरीमा बताइदिनोस् न ?

करिब पाँच वर्ष अगाडि स्थापना भएको नव कृषि विकास कृषि सहकारी संस्थाको कार्यक्षेत्र तीन जिल्लामा फैलिएको छ। संस्थामा २५ जना सदस्य छौं।

संस्था स्थापनाको उद्देश्य के हो त ?
सहकार्यमा आधारित कृषि व्यवसायको प्रवद्र्धन हाम्रो मूल उद्देश्य हो। हामी आफ्नोसँगै स्थानीयको कृषि उत्पादनलाई बजारीकरण गर्न चाहन्छौं।

कुखुरा पालनका लागि ८५ लाख रुपियाँ लगानी कसरी जुट्यो ?
हामीले हरेक शेयर सदस्यबाट २÷२ लाख रुपियाँ संकलन गर्यौं, २० लाख रुपियाँ संस्थाको पुरानो मौज्दातबाट थप्यौं। त्यस्तै नपुगेको १५ लाख रुपियाँ संस्थाले ऋण लिएको छ।

कुखुरामै लगानी किन ?
हाम्रो उद्देश्य कुखुरालगायत बाख्रा, तरकारी खेती, माछापालन पनि हो। तर, पहिलो चरणमा हामीले हामीले बोइलर कुखुरा रोजेका हौं। एउटा व्यवसायलाई सफलतामा पुर्याएपछि अर्को शुरू गर्ने हाम्रो योजना छ। साथै एक व्यवसायले अर्को सपोर्ट गर्ने किसिमबाट काम गर्दै छौं।

संस्थाको भावी योजना के छ ?
सहकारीलाई थप व्यवस्थित गर्ने हाम्रो भावी योजना हो। बचत सदस्य बढाएर संस्थालाई थप सदृढ बनाउन हामी लागेका छौं। मौज्दात रकम नपुगे शेयर सदस्यबाट थप मासिक २५÷२५ हजार उठाउने तरखरमा छौं।


फार्ममा एकैपटक १२ हजार कुखरा पमलन गर्न सकिने भए पनि शुरूमा ६ हजार कुखुरा हाल्ने र विस्तारै थपेर १२ हजार पुर्याइने श्रेष्ठको भनाइ छ। कुखुरापालनका लागि १ सय २५ फिट लम्बाई र १ सय ५ फिट चौडाई ६ वटा टहराको निर्माण गरिँदै छ। प्रत्येक टहरामा २ हजार कुखुरा अट्ने उहाँले बताउनुभयो।

फर्ममा अहिले बोइलर कुखुरा पालिने छ। क्रमशः अरू काम शुरू भएपछि फर्मको अर्को क्षेत्रमा जो हालको टहराभन्दा थोरै टाढा लोकल कुखरापालन गर्ने तयारी भएको उहाँले बताउनुभयो। कुखरापालनका निम्ति १ पशुपंक्षी चिकित्सकसहित ७ जना मजदूर कार्यरत छन् भने ३ जना कर्मचारीले प्रशासनिक, लेखा र बजारीकरणका काम गर्ने संस्थाका सञ्चालक एवम् जलविद्युत् उद्यमी धनबहादुर गुरुङले बताउनुभयो।

उहाँका अनुसार फार्मका हरेक गतिविधिको पर्याप्त मोनिटरिङ संस्थाका शेयर सदस्यले गर्ने छन्। काम गर्दै जाँदा आउन सक्ने समस्यालाई ख्याल गर्दै सामूहिक तथा व्यक्तिगत मोनिटरिङका लागि योजना बनिसकेको उहाँले बताउनुभयो।

कुखुरा फार्मबाट वार्षिक १ लाख २० हजार किलो कुखुराको मासु उत्पादन गर्ने संस्थाको लक्ष्य छ। फार्ममा कुखुरासँगै बाख्रा, आँप, अर्गानिक तरकारीलगायत अन्य कृषि उत्पादन गर्न संस्थाले गृहकार्य गरिहेको छ। संस्थाले भाडामा लिएको जमीनमा हाल १ सय ५४ आँपका बोट रहेका छन्।

जसबाट वार्षिक १४–१५ लाख रुपियाँको आँप बेच्न सकिने अध्यक्ष श्रेष्ठको भनाइ छ।

संस्थााई प्याक्टले आर्थिक सहयोगसँगै प्राविधिक सहयोग पनि गर्ने भएको छ। तालिम र कार्यालय व्यवस्थापनमा पनि कार्यक्रमले सहयोग गर्ने भएको छ। संस्था स्वयम्ले पनि शेयर सदस्य र कर्मचारीलाई प्राविधिक एवम् व्यावसायिक तालिम दिँदै आएको छ। प्रतिस्पर्धाका आधारमा आफूले अनुदान पाएकाले आफूहरूको योजना सफल हुनेमा संस्था ढुक्क रहेको श्रेष्ठले बताउनुभयो।

संस्थाको कार्यक्षेत्र काठमाडौं, धादिङ र नुवाकोट रहेको छ।