विराटनगरमा कसले मार्ला बाजी ?


जनताको मन जित्न उम्मेदवारहरुको कुदाकुद

विराटनगर, (नेस)
विराटनगर महानगरपालिकामा निर्वाचनको रौनक एकाएक बढेको छ। निर्वाचनको तिथि आउन अब केही दिन मात्रै बाँकी रहेको बेलामा विभिन्न पार्टीका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन्।

मोरङ जिल्लामा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ वटा स्थानीय तहमा विभिन्न राजनीतिक दलका तथा स्वतन्त्र उम्मेदवारहरुको टक्कर पर्न गइरहेको छ। महानगरपालिकासमेत भएको नाताले यसलाई कसको पकडमा पार्ने भन्ने बारेमा ठूला राजनीतिक पार्टीले पनि यसलाई प्रतिष्ठाको विषय बनाएको पाइएको छ।

उम्मेदवारहरु अक्सरले विकास निर्माण, सरसफाइ, नगर तथा गाउँलाई हराभरा बनाउने, जनताको काम छिटोछरितो गर्नेलगायतका नारा दिएर मतदातालाई आकर्षित पार्न अनेक गतिविधि सञ्चालन गरिरहेका छन्। ती गतिविधिमा घरदैलो, चुनावीसभा, कोणसभालगायतका रहेका छन्।

विराटनगर महानगरपालिकामा चुनावी सभा, र्यालीका साथै घरदैलो कार्यक्रममा सक्रिय विभिन्न राजनीतिक दलले आ–आफ्ना योजनाका साथ मतदाताको मन जित्ने प्रयास गरेका छन्।

महानगरपालिको निर्वाचनमा नेपाली कांग्रेस र राप्रपा एकल रूपमा निर्वाचनमा सहभागी भएका छन् भने प्रमुख र उपप्रमुख पदका लागि नेकपा (एमाले) र विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपाल संयुक्त रूपमा चुनावी मैदानमा छन्।

यस्तै, प्रमुख र उपप्रमुख पदका लागि संघीय समाजवादी फोरम नेपाल र नेकपा (माओवादी केन्द्र) संयुक्त रुपमा चुनावी मैदानमा उत्रेका छन्। यी चार पार्टीबीच भएका गठबन्धनका कारण विराटनगर महानगरपालिकाको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने सम्भावना प्रवल भएको बताइएको छ।

नेपाली कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगरी प्रमुख, उपप्रमुखलगायत महानगरको १९वटै वडाका अध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराएको छ। अन्य दलले पनि सोहीअनुरुपमा वडामा उम्मेदवारी दर्ता गराएका हुन्।

विराटनगरमा कूल १ लाख १४ हजार मतदाता रहेका छन्।