बैतडी, ९ असार । असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि बैतडीमा तीन हजारभन्दा बढी जनशक्ति परिचालन गरिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी तुलसी पौडेलका अनुसार बैतडीमा एक हजार ८०० सुरक्षाकर्मी, एक हजार १०० निजामती कर्मचारी र २०० स्वयम्सेवक गरी तीन हजार १०० जनशक्ति परिचालन गरिन लागिएकोे हो ।
जिल्लाका सबै क्षेत्रमा नेपाल प्रहरी र म्यादी प्रहरीसँगै विभिन्न चार ठाउँमा सशस्त्र प्रहरी बलका अस्थायी बेसक्याम्प खडा गरिएको छ । जिल्ला सदरमुकाम साहिलेकमा सशस्त्र प्रहरीको क्याम्प स्थापना गरिएको छ भने सदरमुकाम बाहिर पुर्चौडी नगरपालिकाको हाट, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा अस्थायी बेसक्याम्प राखिएको छ ।
स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर असार १२ गते बिहान ७ बजेदेखि असार १५ गते बिहान ७ बजेसम्म नेपाल–भारत सीमा नाका झुलाघाट ७२ घन्टाका लागि बन्द हुने भएको हो ।
बैतडीमा रहेका १७४ मतदान केन्द्रमध्ये दुर्गम तथा टाढाका केन्द्रमा मतदान अधिकृत खटाइसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । भौगोलिक रुपमा टाढा रहेका जिल्लाका सिगास, शिवनाथ, पञ्चेश्वर गाउँपालिका र पुर्र्चौडी नगरपालिकामा मतदान सामग्रीसहित कर्मचारी पठाइएको हो । बाँकी ठाउँमा शनिबारसम्म कर्मचारी खटाइसक्ने जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिनुभयो ।
स्थानीय तहको चुनावलाई ध्यानमा राखेर बैतडीमा मदिरा सेवन तथा बेचबिखनमा रोक लगाइएकोे छ । निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न असार ५ देखि २० गतेसम्म जिल्लामा मदिरा बिक्री वितरणमा पूर्णरुपमा बन्देज गरिएको हो ।
जिल्लामा रहेका १२० मतदानस्थलमध्ये ३१ स्थल संवेदनशील रहेको जनाइएको छ । चार नगरपालिका र छ गाउँपालिका रहेको बैतडीमा एक लाख २४ हजार ८२४ जना मतदाता रहेका छन् । रासस
प्रतिक्रिया