लक्ष्यभन्दा बढी धानको बीउ वितरण


 

सिन्धुली, ८ असार । कृषकलाई यस वर्ष विभिन्न उन्नत जातका ४९ मेट्रिक टन धानको बीउ वितरण गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालयले अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतभन्दा बढी धानको बीउ वितरण गरेको हो । कार्यालयले यस वर्ष सावित्री, मकवानपुरे, राम, सुख्खालगायत जातका धानको बीउ वितरण गरेको कृषि प्रसार अधिकृत विजय मण्डलले जानकारी दिनुभयो ।

कृषकलाई ४३ मेट्रिक टन ५० प्रतिशत छुट र छ मेट्रिक टन भूकम्पपीडितलाई निःशुल्क वितरण गरिएको हो । किसानलाई अनुदानमा प्रतिकिलो २२ रुपैयाँ ५० पैसामा बीउ उपलब्ध गराएको हो । भूकम्पपीडितलाई उन्नत जातको धानको बीउ आठवटा सेवा केन्द्रबाट निःशुल्क वितरण गरिएको हो । कार्यालयबाट अनुदानको बीउ वितरण गरिएको मण्डलको भनाइ छ । धान पाक्ने समयमा पानी परेको र धान भित्र्याउन नपाएका कराण बीउ जोहो गर्न नसक्दा यस वर्ष किसान कृषि कार्यालय र एग्रोभेटको भर पर्नुपरेको हो ।

यस वर्ष एग्रोभेटले मात्रै ३५ मेट्रिक टनभन्दा बढी उन्नत जातको धानको बीउ वितरण गरेका छन् । जिल्लामा ७४० मेट्रिक टन धानको बीउ आवश्यक पर्छ । भिमान, दुधौली र बेलघारीमा धानको बीज वृद्धि कार्यक्रम सञ्चालन गरिएकाले धानको बीउमा आत्मानिर्भर बन्दै गएको मण्डलले बताउनुभयो । रासस