सवारी दुर्घटनामा मृत्यु तथा घाइते


काठमाडौं ।
तनहुँ – बन्दीपुर गाउँपालिका–१ रिमाल्नीस्थित पृथ्वी राजमार्गमा बा.२ ख ३०९२ नम्बरको माइक्रोबस र बा. ४६ प ५९९८ नम्बरको मोटरसाइकल बुधबार एकआपसमा ठक्कर खाँदा मोटरसाइकल अनियन्त्रित भई ना.४ ख ८६७९ नम्बरको ट्रकमा ठोक्किदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ललितपुर, गोदावरी नगरपालिका–२ बस्ने ३५ वर्षीय मुकेश कार्कीको रत्नहरि अस्पताल दमौली हुँदै मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।

मोटरसाइलमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय महेश सिलवालको सोही अस्पतालमा उपचार भइरहेको छ । ३ वटै सवारी साधन र दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही – सिद्धार्थ नगरपालिका–८ अंचलपुरस्थित सिद्धार्थ राजमार्गमा ना.५ ख १६५० नम्बरको ट्रकले लु.३० प २०१२ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिंदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार देवदह नगरपालिका–१२ प्रगतीनगर बस्ने २७ वर्षीया आशा तामाङको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ ।

मध्यम घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २३ वर्षीय पदमबहादुर रानाको सोही अस्पतालमा र सामान्य घाइते भएका ट्रक चालक नवलपरासी दुम्किबास बस्ने २८ वर्षीय वकिल थापाको भिम अस्पताल भैरहवामा उपचार भइरहेको छ ।

दोलखा – बिगु गाउँपालिका–१ गंगुर खोलास्थित तामाकोशी नदीबाट बालुवा लोड गरी गंगोरतर्फ जाँदै गरेको सिनो हाइड्रोलेबल ६ को भेहीकल नम्बर १३ को अपर तामाकोशीको चिनिया कम्पनीको टिप्परले बुधबार अचानक ठक्कर दिँदा फ्याफुल्ला कन्स्ट्रक्सनमा मेनेजरको रुपमा कार्यरत सिन्धुपाल्चोकका ४२ वर्षीय बिआर भट्टराईको घटनास्थलमै मृत्यु भएको छ । टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।