निर्वाचन समाग्री सहित रमाना भए कर्मचारीहरु


विमल विष्ट, डोटी ।
दिपायल सिलगढी नगरपालिकाका सामुदायिक बिकास अधिकृत रमेशचन्द्र जोशी जिल्ला निर्वाचन कार्यालयको प्राङ्गणमा आज बुधबार पलेटी कसेर बस्नु भएको थियो । हातमा मतदानका लागि चाहिने सामग्रीको सूची बुकेका उहाँसंगै रहेका अर्का कर्मचारीलाई सामान रुजु गर्न निर्देशन गर्दै हुनु हुन्थ्यो ।

जोरायल गाउँपालिका २ कपलकट्टेश्वर आधारभूत बिद्यालय मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्न खटिनु भएका जोशी निर्वाचन सामग्री बुझ्नका लागि बुत्रबार निर्वाचन कार्यालयमा पुग्नु भएको हो । जोशी जस्तै अन्य कर्मचारीहरु पनि निर्वाचन सामग्री बुझ्नका लागि कार्यालयमा पुगेका थिए ।

 

असार १४ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नका लागि जिल्लाका बिकट गाउँपालिकाहरुमा खटिएका कर्मचारीहरु निर्वाचन सामाग्री सहित बुधवार नै रमाना भईसकेका मुख्य निर्वाचन अधिकृत एवं डोटी जिल्ला अदालतका माननिय न्यायाधिस नरनारायण पौडेलले जानकारी दिनु भयो ।

भौगोलिक दुरीका आधारमा कर्मचारीलाई ४ चरणमा रमाना गर्ने योजना वनाएको बताउदै उहाँले भन्नु भयो, ‘पहिलो चरणमा बड्डी केदार र जोरायल गाउँपालिकाका लागि बुधवार कर्मचारी रमाना ग¥यौ,दोश्रो चरण दोस्रो चरणमा बोगटान र के.आई.सिंह, तेश्रो चरणमा आदर्श र सायल गाउँपालिका र चौथो चरणमा दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र पूर्वीचौकी गाउँपालिकामा क्रमसः कर्मचारीहरु रमाना हुने छन् ।’

 

डोटी जिल्लामा स्थानिय तहको निर्वाचनका लागि करिव नौ सय कर्मचारीहरु खटिएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन सम्पन्न गर्नका लागि कर्मचारी खटाउने र मतपत्र उपलव्ध गराउने जिम्मा मुख्य निर्वाचन अधिकृतको कार्यालयको,निर्वाचन सामग्रीहरु उपलव्ध गराउने काम जिल्ला निर्वाचन कार्यालयको र निर्वाचनमा सुरक्षा दिने काम स्थानीय प्रशासनको भएकोले सोही अनुसार काम भइरहेको समेत मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनु भयो ।