अस्ट्रियामा लुट–२

0
Shares

 

प्रभु श्रेष्ठ, भियना, अष्ट्रिया

गत वर्ष रिलिजमा आएका फिल्ममा कमाई गर्न सफलमध्येको एक फिल्म लुट–२ अस्ट्रियाको राधानीमा भियनामा प्रदर्शन गरिएको छ। खोटाङको रूपाकोट मझुवागढी नगरपालिकास्थित जालपामा अवस्थित ज्योति माविमा गत ज्येष्ठ १५ गते भएको आगलागीबाट विद्यालयको कार्यालय, पुस्तकालय, संगीत कक्ष, विज्ञान प्रयोगशाला र चार पठनपाठन कक्ष जलेर पूर्णरूपमा क्षतिग्रस्त भएकाले सो विद्यालयको पुनर्निर्माणका लागि गत वर्षको सफमध्येको लुट–२ को च्यारिटी शो आइतबार गरिएको हो।
अस्ट्रिया निवासी लेखक रविचन्द्र भट्टराईको अगुवाइमा उनका केही विशेष मित्रहरुको सहयोगमा सो विद्यालयको पुनर्निर्माणका लागि लुट–२ च्यारिटी शो गरिएको हो। च्यारिटी शोबाट संकलित रकम विद्यालयको पुनर्निर्माणका लागि उपलब्ध गराइने भएको छ। च्यारिटी शोमा अस्ट्रियाबासी नेपाली सहभागी भएका थिए।

लुट–२ नेपाली फिल्म क्षेत्रलाई लुटजस्तो फिल्मबाट नयाँ मोड दिलाउने निर्देशक निश्चल बस्नेतले निर्देशन गरेका हुन्। लुटको कथालाई निरन्तरता दिँदै निर्माण गरिएको लुट–२ मा सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मा, विपीन कार्की, प्रवीण खतिवडा, सुशीलराज पाण्डे, प्रतिकराज न्यौपानेलगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्। ए प्रिन्सेस मुभिज र ब्ल्याक हर्स पिक्चर प्रोडक्सनको ब्यानरमा माधव वाग्ले र नरेन्द्र महर्जनद्वारा निर्मित फिल्ममा लेखन निर्देशक बस्नेतकै रहेको छ भने संगीत कालिप्रसाद बासकोटा र रोशन थापा, छायांकन पुरुषोत्तम प्रधान र सम्पादन सुरेन्द्र पौडेलको रहेको छ।