लमजुङमा ३.९ जीपीए साथ दुई विद्यार्थी जिल्ला प्रथम

0
Shares

 

लमजुङ, (नेस)
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत लमजुङमा दुई जनाले बराबरी नम्बर ल्याएर जिल्ला प्रथम भएका छन्। बेंसीशहरस्थित बुद्ध मेमोरियल बोर्डिङ स्कुलकी रितु श्रेष्ठ र धमिलीकुवास्थित शैलपुत्री माविका समीर सेढाईं जिल्ला प्रथम भएका हुन्। दुवैले ३.९ जीपीए (९७.५ प्रतिशत) अंक ल्याएका हुन्।

जिल्ला शिक्षा कार्यालयले यसलाई प्रारम्भिक नतिजा भएको बताएको छ। शिक्षा कार्यालयका सूचना अधिकारी बाबुराम बरालले दुवै जनाको जीपीए बराबर रहेको जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लाको सबै नतिजा यकिन गर्न अझै केही समय लाग्छ।

जिल्ला प्रथम रितुले भनिन्– ‘एसईई परीक्षामा सोचेअनुरूपको नम्बर प्राप्त गर्न सकिनँ। तर पनि प्रथम हुँदा खुसी भएको छु। अझै केही बढी अंक आउने आशा थियो, अब विज्ञान विषय लिएर पढ्छु।’

रितुमा एक प्रकारको विशेष प्रतिभा भएको उक्त विद्यालयका प्रिन्सिपल शिवेन्द्र कँडेलले बताउनुभयो। उहाँका अनुसार स्कुलमा आयोजना गरिने हरेक अतिरिक्त क्रियाकलापमा उनी प्रथम हुँदै आएकी थिइन्। उहाँले भन्नुभयो– ‘रितुको मेहनत, सक्षम तथा विषयगत शिक्षक र कुशल व्यवस्थापनक कारण यो नतिजा आएको हो।’ रितु कक्षा ८ को जिल्लास्तरीय परीक्षमा समेत प्रथम भएकी थिइन्। बेंसीशहर नगरपालिका ८, नारायणस्थान चोकका स्थायी बासिन्दा रितुका आमा सुमित्रा र बुबा प्रेमकुमार दुवै पेसाले शिक्षक हुन्। उनकी आमा सुमित्राले छोरी जिल्ला प्रथम भएकोमा खुसी लागेको बताउनुभयो।

‘सामुदायिक स्कुलमा पढेर पनि जिल्ला प्रथम हुँदा खुसी लागेको छ’ –एसईई प्रथम भएका समीरले बताए। उनले पनि विज्ञान विषय लिएर पढ्ने बताएका छन्। उनी शैलपुत्री माविका प्रधानाध्यापक बुद्धराज सेढाईंका छोरा हुन्। आमा शोभा गृहिणी हुन्। बेंसीशहर नगरपालिका–११, रामचोकबेंसी (तत्कालीन चिती–७) मा स्थायी बसोबास रहेका प्रधानाध्यापक सेढाईंले पेसाका क्रममा पढाउन आफू जहाँ पुग्छ त्यहीको विद्यालयमा लगेर छोरालाई पढाउने गरेको बताउनुभयो।

एसईईमा लमजुङबाट कुल ३ हजार ४ सय ६१ जना परीक्षार्थीले आवेदन दिएकोमा ५३ जना अयोग्य ठहर भई ३ हजार ४ सय ८ जना परीक्षार्थीले परीक्षा दिएका थिए। शिक्षाका अनुसार नियमिततर्फ ३ हजार ३ सय ४९ जना र एक्जाम्टेड ३० जना र ग्रेड वृद्धितर्फ ८२ जना परीक्षार्थी रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।