मेडिकल कलेज–पत्रकार महासंघबीच सम्झौता , पत्रकारको उपचारमा विशेष सहुलियत

0
Shares

 

धन बस्नेत, पोखरा
नेपाल पत्रकार महासंघमा आबद्ध पत्रकारलाई पोखरास्थित गण्डकी मेडिकल कलेजले उपचारमा विशेष सुविधा दिएको छ। अस्पतालमा दिइने सामान्यदेखि अपरेसनसम्मको उपचारका लागि कलेजले पत्रकारलाई विशेष छुट दिने सम्झौता गरेको छ। नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार खनालबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

कलेजले पत्रकार महासंघमा आबद्ध सदस्यताको परिचयको आधारमा स्वास्थ्य सेवामा ५ देखि ५० प्रतिशत छुट दिने गरी सम्झौता गरेको छ। ‘महासंघमा आबद्ध पत्रकारलाई परिचयपत्रको आधारमा कलेजले छुट दिनेछ’, कलेजका कार्यकारी अधिकृत खनालले भन– ‘कास्कीका मात्रै नभई महासंघको जुनसुकै शाखामा आबद्ध पत्रकारलाई सम्झौताअनुसार उपचार सेवा प्रदान गरिनेछ।’
कार्यकारी अधिकृत खनालका अनुसार ल्याब टेस्टमा २५ प्रतिशत, अल्ट्रासाउन्ड⁄एक्स रेमा २० प्रतिशत, ओपीडी (टिकट) मा ५० प्रतिशत, अपरेसन शुल्कमा २० प्रतिशत, फार्मेसीमा ५ प्रतिशत, डेन्डल उपचारमा ५ प्रतिशत, क्याविन बेड शुल्कमा ५० प्रतिशत, सिटी स्क्यान⁄एमआरआई परीक्षणमा ५ प्रतिशत र डाइग्नोसिसमा ५ प्रतिशत छुट दिने सम्झौतापत्रमा उल्लेख छ।

सम्झौताले पत्रकारको उपचारमा अब आर्थिक भार केही कम हुने आशा र विश्वास पत्रकार महासंघ कास्कीले लिएको छ। पोखरासँगै स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, तनहुँ, लमजुङ र गोरखाका पत्रकारको उपचारमा समेत सहज हुने विश्वास गरिएको छ। केही दिनअघि मात्रै पत्रकार महासंघ कास्कीका सदस्य प्रकाश ढकालको उपचारमा समेत कलेजले शैय्या र डाक्टर भिजिट शुल्कलाई निःशुल्क गरिदिएको थियो। कार्यकारी खनालले अस्पतालमा उपचार गर्ने क्रममा लापरबाही भएको प्रतिवेदनको आधारमा चिकित्सकलाई कारबाही समेत गर्ने उदघोष गरे।

सम्झौतापत्रमा हस्ताक्षरपछि नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कलेजसँग भएको सम्झौतालाई समयअनुसार परिमार्जन गर्दै लैजाने बताउँदै अस्पताल प्रशासनलाई कार्यान्वयन गर्नेतर्फ विशेष ध्यान दिन आग्रह गरे। ‘यो सुरुवातसँगै उपलब्धि हो। तर कार्यान्वयन गर्न अस्पताल प्रशासनले गम्भीरता देखाउनुपर्छ’ –उनको भनाइ थियो।

अस्पताल सञ्चयकोषमा सञ्चालित रहेको उल्लेख गर्दै कार्यकारी अधिकृत खनालले सञ्चयकर्ताको परिचयपत्रको आधारमा उपचारमा विशेष छुट दिँदै आएको समेत बताए।