भेडीखर्केलाई राष्ट्रिय सम्मान

0
Shares

ठाडोभाका शिरोमणि उपाधि दिन माग

लमजुङ, (नेस)। ठाडोभाका शिरोमणि भेडीखर्के साहिला राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। उनलाई हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोषको राष्ट्रिय पुरस्कारबाट लमजुङको सुन्दरबजारमा आयोजित एक विशेष समारोहका बीच सम्मानित गरिएको हो।

उनलाई प्रमुख अतिथि लमजुङका स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देल, सुन्दरबजार नगरपालिकाका प्रमुख जनक मिश्र, उक्त कोष एवम् सभाका अध्यक्ष कुष्णप्रसाद बास्तोला तथा कोषका संरक्षक रामबहादुर कोइरालाले संयुक्तरूपमा टिका, दोसल्ला, सम्मान पत्र तथा नगद १५ हजार रुपियाँसहित सम्मान गरेका हुन्।

स्थानीय विकास अधिकारी सिग्देलले लमजुङको मौलिक पहिचानको रूपमा रहेको ठाडोभाका शिरोमणिका रूपमा भेडीखर्के साहिलालाई जनस्तरबाट सम्बोधन गरिँदै आएकोमा अब राज्यले नै सो उपाधि दिनुपर्ने माग गर्दै त्यसका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले कार्यक्रमको सहआयोजक ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङको मागअनुसार भेडीखर्के साहिलालाई ठाडोभाका शिरोमणि उपाधी दिलाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङका अध्यक्ष नवराज पहाडीले भेडीखर्के साहिलाको व्यक्तित्व र कीर्तित्वमा प्रकाश पार्दै जनस्तरबाट दिइएको ठाडोभाका शिरोमणीको उपाधिलाई अब राज्यका तर्फबाट दिनुपर्ने र त्यो उनको ८५औँ जन्मदिनका दिन आगामी भदौ २९ गते विशेष समारोहमा प्रदान गर्न माग गरेका थिए।

यसै गरी, सुन्दरबजार नगरपालिकाका प्रमुख मिश्रले ठाडोभाका सहितको लोकसंस्कृतिको संरक्षणमा नगरपालिकाकोे तर्फबाट विशेष कार्यक्रम सञ्चालन गर्ने बताए। नगरपालिकाकी उपप्रमुख ज्ञानु शाहले ठाडोभाका संरक्षणका कार्यक्रम सञ्चालन गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरिन्।

कार्यक्रममा हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोषकी संस्थापक हरिदेवी कोइरालाले आफ्ना बहुचर्चित गीतहरू सरमैरानी, पाइन खबर, झिनझिन् सितारा गाएर मनोरञ्जन दिलाएकी थिइन्।