सलोन बल्ल शोभितसँगै

0
Shares

 

बिहीबार राजधानीमा पुराना पुस्ताका अभिनेता सरोज खनाल र नयाँ पुस्ताका अभिनेता सलोन बस्नेत एकैसाथ अभिनय गरिरहेको भेटिए। सरोज र सलोनले अभिनय गर्दैगर्दा निर्देशनचाहिँ नायिका पूजा शर्माले गरिरहेकी थिइन् भने उनको निर्देशनमा नायक आमेश भण्डारीले क्यामरा चलाएको र अर्का नायक सलिममान बनियाँले क्ल्याप दिएको र काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीले नरिवल फुटाएको देखियो।

यो अनौठो दृश्य थियो निर्माता, निर्देशक शोभित बस्नेतले ३ वर्षको अन्तरालपछि निर्देशन गर्न लागेको फिल्म बाबुकान्छाको शुभमुहूर्तको। शोभितले जाऊँ हिँड पोखरापछि निर्देशन गर्न लागेको यो २९औं फिल्म हो। रमाइलै पक्ष भन्नुपर्छ यो फिल्ममा शोभितको निर्देशनमा उनका नायकपुत्र सलोन बस्नेतले पहिलोपटक अभिनय गर्दै छन्। ‘मलाई जहिल्यै पनि शुभचिन्तकले बाबु (शोभित) र छोरा (सलोन) लाई सँगै कहिले हेर्न पाउँछौं भनेर सोध्थे। अब त्यो प्रश्नलाई पूर्णविराम लगाउँदै बुबाको निर्देशनमा म फिल्ममा देखिँदै छु, मुहूर्त समारोहमा सलोनले खुसी हुँदै भने– ‘लामो समय नेपाली फिल्म क्षेत्रमा बिताउनुभएका हस्तीहरूसँग फिल्ममा सहकार्य गर्दै छु। त्यसैले मलाई डर पनि लागेको छ। तर पनि हामी दर्शकलाई राम्रो फिल्म दिनेछौं।’

निर्देशक पिता शोभितले पनि आफ्नो निर्देशनमा छोरालाई अभिनय गराउन पाउँदा खुसी प्रकट गरे। ‘मैले सलोनकै लागि भनेर २⁄३ वर्षदेखि कुनै पनि फिल्मको काम नगरी बाबुकान्छामा केन्द्रित गरें। धेरै मेहनतपछि यो फिल्म बनाउँदै छु। त्यसैले पनि हामी बाबुछोराको सहकार्यलाई दर्शकले रुचाउनुहुनेछ भन्ने विश्वास छ’ –शोभितको भनाइ थियो। फिल्मका लेखक तथा निर्मातासमेत रहेका शोभितले प्रेमकथाको फिल्मले गाउँले र शहरिया दुवै परिवेश चित्रण गर्ने बताए। उनले निर्देशक नारायण पुरीको फिल्म तपस्यामा पहिलोपटक अभिनय गर्दा अभिनेता सरोज खनालको पछाडि उभिएको स्मरण गर्दै सुनाए– ‘नाटक र टेलिफिल्ममा काम गरिसकेको हुनाले मलाई फिल्ममा पनि काम गर्ने रहर जाग्यो। जस्तोसुकै भूमिकामा अभिनय गर्ने भनेपछि नारायण दाइले मलाई सरोज दाइको पछाडि बन्दुक बोकेर उभिने भूमिकामा अभिनय गराउनुभयो। निर्देशक भएपछि सरोज दाइलाई लिएर फिल्ममा काम गर्ने लामो समयदेखिको सपना यसपटक पूरा गर्दै छु।’

अभिनेता सरोज खनालले भने तपस्यामा निर्देशक शोभित आफ्नो पछाडि हुनु र अहिले आफू शोभितको पछाडि हुनुमा रमाइलो लागेको बताए। ‘म अमेरिका रहँदा धेरैले मलाई पलायन भयो भने। तर शोभितले मेरो पुराना गीतका भिडियो राखेर मलाई स्मरण गरिरहे। मेरो पछाडि उभिने एउटा केटाले यति धेरै प्रगति गरेर आज म उसको पछाडि उभिन पाउँदा गर्व लागेको छ’ –उनले भने। भोलि शनिबारबाट सुटिङ फ्लोरमा जाने फिल्ममा सलोन बाबुकान्छाको शीर्ष भूमिकामा देखिनेछन् भने उनीसँगै ऋतिक शाही, करिश्मा श्रेष्ठ, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, सम्राट सापकोटा, लय संग्रौला, गीता अधिकारी, सुशान्त श्रेष्ठलगायत प्रमुख भूमिकामा हुनेछन्। अश्लिन ज्ञवाली र ज्योत्सना महर्जन पनि यसमा नायिकाका रूपमा डेब्यु गर्दै छन्।

सलोन फिल्मस्को ब्यानरमा सलिना बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, टंक बुढाथोकी र अल्मोडाको संगीत तथा बाबु श्रेष्ठको छायांकन रहनेछ।