साइबर हमलाको पछाडि उत्तर कोरियाः अमेरिका


 

वासिङ्टन, (एजेन्सी)
अमेरिकी जाँच एजेन्सी एनएसएले आफ्नो प्रतिवेदनमा हालै भएको साइबर हमला ‘वानाक्राइ’का लागि उत्तर कोरिया जिम्मेवार भएको ठहर्याएको छ।

यद्यपि वासिङ्टन पोस्टले उक्त प्रतिवेदनमा रहेका जानकारीले पूर्ण रूपमा उक्त हमलाका लागि उत्तर कोरिया जिम्मेवार नठहरिने उल्लेख गरेको छ। तर एनएसएले उक्त हमलाको उद्देश्य उत्तर कोरियाली सरकारको ढुकुटी भर्नु रहेको जनाएको छ।

कम्प्युटर सुरक्षा कम्पनी सिम्यान्टेकले पनि उक्त हमलाको पछाडि उत्तर कोरियासँग आबद्ध ह्याकिङ समूह रहेको जनाएको छ। तर अन्य सुरक्षा फर्महरूले भने यस हमलामा उत्तर कोरियाको हात रहेको दाबीलाई चुनौती दिँदै आइरहेका छन्। वानाक्राइ साइबर हमलाका पीडितहरूमा बेलायतका ६० एनएचएस ट्रस्ट, फेडेक्स, रेनोसहित टेलिफोनिका जस्ता संस्थाहरू परेका छन्। हमलाको सिकार भएकाहरूको कम्प्युटरमा सुरक्षित जानकारी पुनः प्राप्त गर्न फिरौती रकमका दिन सूचित गरिएको थियो।

उक्त अखबारले एनएसएको प्रतिवेदनले उक्त हमला उत्तर कोरियाको गुप्तचर एजेन्सी आरजीबीले प्रायोजित गरेको दाबी गरेको उल्लेख गरेको छ। सिम्यान्टेकले पनि यो हमला उत्तर कोरियाका लागि लेजरस ह्याकिङ समूहले गरेको दाबी गरेको छ।

यद्यपि जासुसी कम्पनी फ्ल्यास प्वाइन्टले चिनियाँ भाषा बोल्ने ह्याकरहरू यस हमलामा जिम्मेवार भएका जनाएको छ। त्यसै गरी क्रिटिकल इन्फ्रास्ट्रक्चर टेक्नोलोजी इन्स्टिच्युटमा आबद्ध जेम्स स्कट लेजरस र उत्तर कोरियाबीच गहिरो सम्बन्ध रहेको कुरालाई आशंकाको दृष्टिले हरेका छन्। ती दुई आपसमा मिलेका छन् भन्नु आफैमा हटार हुने उनले बताए।
यस साइबर आक्रमणबाट प्राप्त गरेको १ लाख ४० हजार अमेरिकी डलरको बिटक्वाइन्सको अहिलेसम्म प्रयोग भएको छैन। यदि ती पैसा प्रयोग गरेमा हमला गर्नेहरूसम्म सजिलै पुग्न सक्ने सुरक्षा विशेषज्ञहरू बताउँछन्।

यसैबीच फायरआइसँग जोडिएको एक कम्प्युटर सुरक्षा शोधकर्ताले रोयटर्ससँगको कुराकानीमा यदि उत्तर कोरिया वानाक्राइ र अन्य ह्याकिङको घटनामा संलग्न हो भने यसले ऊबाट पहिलाको भन्दा ठूलो हमलाको तयारीमा रहेको संकेत गरेको हुनसक्ने बताए।