तमोर किनारका माझीको पुख्र्यौली पेसा सङ्कटमा


तेह्रथुम, १ असार । तमोर नदीको किनारमा बस्दै आएका तेह्रथुम र पाँचथरका माझी समुदायको पुख्र्यौली पेसा सङ्कटमा परेको छ । नदीमा पैदल यात्रीका लागि झोलुङ्गे पुल र सवारीसाधन आवागमनका लागि पक्की पुल निर्माण भएपछि उनीहरूको डुङ्गा चलाउने व्यवसाय ठप्प छ ।

खोलामा माछासमेत पर्याप्त पाइँदैन । माछा मारेर पनि जीविकोपार्जन नहुने भएपछि माझी जीविकोपार्जनका लागि वैकल्पिक बाटो अपनाउन थालेका छन् । यतिबेला मुलुकमा स्थानीय निर्वाचनको रौनक छ । तर माझीलाई त्यसले छोएको छैन । माझीले कतै पनि उम्मेदवारी पनि पाएका छैनन् ।

आफूहरुलाई चुनावले नछोएको छातेढुङ्गाका शिवनारायण माझीले बताउनुभयो । पुख्र्यौली पेसा मासिएपछि माझीलाई यतिबेला चुनावको भन्दा पनि बिहान–बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता रहेको उहाँले बताउनुभयो ।

माछा मार्ने, डुङ्गा चलाउने, डुङ्गा बनाउने, भारी बोक्ने आदि काम गर्दै आएका यहाँका माझी पुख्र्यौली रुपमा गर्दै आएका ती पेसा मासिँदै जाँदा जीविकोपार्जनमै समस्या हुन थालेको बताउँछन् । पुख्र्यौली पेसा मासिएपछि माझीको दैनिकी असजिलो रुपमा बितिरहेको छ । तमोर नदीको किनारमा रहेका तेह्रथुम र पाँचथरका माझीटार, ढोडेनी, पिनासी, लिम्बुनी पुलघाट, लुम्बुघाट, स्याबरुम्बा, नक्कलेघाटलगायत ठाउँमा बसोबास गर्दै आएका माझी विस्थापित हुन थालेका छन् ।

उनीहरु खेतीपाती र अन्य रोजगारीका लागि बसाइँ सर्न थालेका छन् । यहाँका माझी खोलामा माछा मार्ने, डुङ्गा चलाएर बाटो हिँड्ने मानिसलाई वारिपारि तार्ने, भारी वारिपारि तारिदिने आदि काम गर्दै गुजारा चलाउने गर्थे ।

तमोर नदीको माझीटार घाटमा मोटर चल्ने पुल बनेपछि सडकबाट मानिस आवत जावत र सामान ढुवानी हुन थालेको छ । खोलामा विद्युतीय करेन्ट तथा विषादीको प्रयोग गरी अरूले पनि माछा मार्दा नदीमा माछा नै पाउन छाडेको छ । अहिले यहाँ कार्यरत सयौँको सङ्ख्यामा रहेका माझी बेरोजगार बनेपछि अन्य पेसा अपनाउन थालेका छन् । बाढी र पहिरोले पनि माछा मारिदिएकाले माछा पाउन छाडेको स्थानीयवासी बताउँछन् ।

पुख्र्यौली पेसा मासिएपछि माझी पनि खेतीपाती, मजदुरी गर्न र परदेशतिर जान थालेका छन् । तमोर किनारमा तेह्रथुम र पाँचथरमा मात्रै गरी कुल करिब ३०० घरधुरी माझी बसोबास गर्दै आएका छन् । धेरैजसो माझी अहिले खेतीपातीमा लागेका छन् । जग्गा नभएका पनि नदी किनारबाट माथिल्लो क्षेत्रमा जग्गा भाडामा लिएर, अधियाँ, कुँदियाँ तथा बन्धकी लिएर खेती गर्न थालेका छन् । पुख्र्यौली पेसा मासिएपछि माझीलाई गुजारा चलाउन अन्य पेसा अपनाउनु परेको छ ।

पुख्र्यौली पेसा मासिएपछि माझीको रोजीरोटी नै खोसिएको छातेढुङ्गाका माझीले बताउनुभयो । “अहिले खोलामा माछा कम मात्रै पाउँछ, हामीले दिनभरि खोलामै बिताउँदा पनि एक केजी माछा पनि पाउन छाड्यौँ, कमाई पनि ठप्प छ”, उहाँले भन्नुभयो ।

माछा मार्ने काम ठप्प भएपछि माझी युवा जाल, थकौली र बल्छी थन्क्याएर रोजगारीका लागि देश परदेश जान थालेका छन् । काम गर्नसक्ने युवाले घर छाडेपछि गाउँमा भने केटाकेटी र बूढाबूढी मात्र रहेको पाँचथरको स्याबरुम्बास्थित लुमुघाटकी दिलकुमारी माझीले बताउनुभयो । “तमोर किनारको बास छ, खेती गरौँ जग्गा जमिन छैन”, दिलकुमारी भन्नुहुन्छ, “दुई छाक टार्ने माछा पनि बाढीले बगाएपछि माझीको बिचल्ली भयो, जसोतसो जिउनै प¥यो, त्यसैले केटाठिटा सबै कमाउन घरबाहिर गएका छन् ।”

तमोरमा डुङ्गा चलाई गुजारा गर्ने माझीका लागि नक्कले, सिम्रा, पिनासी, माझीटार र लुमुसहित अधिकांश घाटमा पुल बनेपछि चिन्ता थपिएको माझीटारका जसबहादुर माझीले बताउनुभयो । नाउ चल्ने घाटमा पुल, नदी किनारासम्मै मोटरबाटो पनि पुग्न थालेपछि गढतिरमा माछा मार्न जो–कोही पुग्ने गरेका छन् । यसले पनि माझीको पुख्र्यौली पेसा जोखिममा पारेको छ । “आफ्नै खेतीपाती गर्ने जग्गा जमिन छैन”, जसबहादुरले भन्नुभयो, “पुल बनेपछि नाउ थन्क्यायौँ, नदीमा माछा पनि पाउँदैन, अब के गरिखाने हो ? समस्या छ ।”

यहाँका माझीमध्ये अधिकांशको व्यवसाय माछा मारेर बिक्री गर्नु नै थियो । उनीहरुले मारेका माछामध्ये केही ग्राहक घर–घरमा गएर खरिद गर्थे भने केही माझीले नजिकका बजारमा बिक्री गर्न लाने गरेका थिए । परम्परागत रुपमा नाउ तार्ने र माछा मार्ने पेसा अङ्गाल्ने माझीका दुईवटै पेसा विस्थापित हुँदै गएपछि माझीको अवस्था भने दयनीय बनेको छ । लोप हुने अवस्थामा पुगेका माझीलाई पनि राज्यले उचित शिक्षादीक्षा र समान अवसर दिएर न्याय गर्नुपर्ने स्थानीय जयकुमार माझीले बताउनुभयो ।

माझीलाई सरकारले अल्पसङ्ख्यकको सूचीमा राखेको छ । अल्पसङ्ख्यक गाउँपालिका वा नगरपालिकाको गाउँ वा नगरसभाको निर्वाचनपछि बन्ने गाउँ कार्यपालिका वा नगर कार्यपालिकामा गाउँ वा नगर सभाबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था छ ।

माझीका दुःखसुख जसले बुझ्छ उसैलाई भोट दिने माझीको तयारी छ । धेरैले पार्टीभन्दा पनि माझीका लागि योगदान गर्ने, गाउँमा विकास ल्याइदिने नेतालाई मतदान गर्ने कुरा गरेका जयबहादुरले बताउनुभयो । रासस