सन्तोष अधिकारी, गोरखा
हिमालपारिको गाउँ सामागाउँबाट तिब्बत जोड्ने नाका खुलाउन गोरखाका सांसदले पहल गरेका छन्। गोरखा क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद छमबहादुर गुरुङले मंगलबार गृहमन्त्री जनार्दन शर्मासँग भेट गरी नाका खुलाउन पहल गरिदिन माग गरे।
भेटमा शर्माले आफ्नो ठाउँबाट सक्दो पहल गर्ने प्रतिबद्धता गरेको सांसद गुरुङसँगै गृहमन्त्री शर्मालाई भेट्न गएका छेकम्पारका निमा लामाले जानकारी दिए। ‘सांसदले पेस गरेको निवेदन गृहमन्त्रीले गृहसचिवलाई दिनुभयो। सचिवले परराष्ट्रलाई दिने र परराष्ट्र मन्त्रालयले चिनियाँ दूतावासमा आग्रह गर्ने तयारी भएको छ’, लामाले भने– ‘पहिले चुमपट्टि पनि त्यसै गरेको हो। चुमतर्फ नियमित खुला भएको छ। अब नुब्रीपट्टि पनि नियमित खुल्नुपर्छ।’ नाका नियमित खुलेमा दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीसम्म सबै आयात गर्न सजिलो हुने उनले बताए।
अहिले यार्सागुम्बाको सिजन छ। यार्सागुम्बा बेचेर कमाएको पैसाले स्थानीयबासीले तिब्बतको जोद्रा शहरबाट सामान ओसार्ने गर्छन्। तर, अहिलेसम्म नाका नखुल्दा स्थानीयबासी समस्यामा रहेका लामाले बताए।
यसअघि गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पनि गृहमन्त्रीसँग भेट गरी नाका खुलाइदिन अनुरोध गरेका थिए। मंगलबार नाका खुलाउने सिफारिस पठाएको प्रजिअ बस्नेतले जानकारी दिए।
प्रतिक्रिया