अस्वस्थ बालकलाई क्षितिजाको सहयोग

0
Shares

 

नायिका, मोडल, फेसन डिजाइनर तथा कोरियोग्राफर क्षितिजा शाक्यको पहलमा होलो फ्रोजेनसेफाली नामक जटिल र दुर्लभ रोगबाट पीडित बालकलाई सहयोग प्राप्त भएको छ। उनले केही महिनाअघि उक्त बालकको फोटो सामाजिक सञ्जालमार्फत् शेयर गरेकी थिइन्। जसको कारण उनलाई ती बालकको सहयोगका लागि विभिन्न व्यक्तिबाट सहयोग रकम प्राप्त भएको छ।

यसैबीच इजरायलमा बस्ने नेपालीहरुको समूह स्विट अपाटका विभिन्न व्यक्तिहरुले व्यक्तिगतरूपमा सहयोग संकलन गरी ९५ हजार रुपियाँ सहयोग गरेको छ। ‘करिब ६ महिनाअघि मैले बच्चालाई असनमा माग्दै हिँडिरहेको देखेको थिएँ। यस्ता माग्दै हिँड्ने बच्चा धेरै हुन्छन्, तर उसको टाउको निकै ठूलो भएकाले अवस्था क्रिटिकल रहेको महसुस भयो। त्यो बेला उसलाई केही पैसा दिएर हिँडे’, क्षितिजाले भनिन्– ‘३ महिनाअघि फेरी उसलाई असनमा भेटेपछि उसको उपचारमा सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्यो।। बच्चाको आमालाई आफूले सक्ने सहयोग गर्ने बताएँ। तर, मैले मात्र गरेर केही हुनेवाला थिएन। बच्चाको फोटो खिचेर फेसबुकमा हालें। त्यसपछि विस्तारै उसका लागि सहयोग जुट्दै गयो हाल करिब १ लाख ५० हजार रुपियाँ जम्मा भएको छ। जुन उसको उपचारका लागि खातामा जम्मा गरिएको छ।’

क्षितिजाको सहयोगमा नर्भिक अस्पतालमा लगिएको बालकको एमआरआई रिपोर्टअनुसार होलो फ्रोजेन सेफली नामक मस्तिष्कसम्बिन्धी रोग लागेको पत्ता लाग्यो। ‘नर्भिकका न्युरोफिजिसियन डा. पंकज जलानको सल्लाहअनुसार उसलाई अहिले निदानात्मक उपचार गर्ने र २ वर्षपछि मात्र अपरेशन गर्ने निर्णय गरेका छौं। तर, अपरेशनपछि पनि ठीक नै हुन्छ भन्ने स्योर छैन। अहिले अस्पतालले निःशुल्क बच्चाको उपचारको व्यवस्था गरेको छ। उसको उपचार भइदिए पीडा कम हुने थियो’ –उनले भनिन्। रोल्पा बुढागाउँका ४ वर्षीय बालक गौतम हाल काठमाडौंमा आफ्नी आमा रजिता थापासँग बस्दै आएका छन्। उपचारका लागि रोल्पाबाट काठमाडौं आएकी रजिताले काठमाडौंमा पनि उपचारका लागि आर्थिक अभावका कारण राजधानीको सडकमा छोराको उपचार खर्च जुटाउन जुटाइरहेको अवस्थामा क्षितिजाको साथ पाएकी हुन्। हाल गौतमको स्याहार र औषधि उपचारमा हाल क्षितिजाले सहयोग गर्दै आइरहेकी छिन्।