कुमार श्रेष्ठ, बाँक
पार्टीको झण्डालगायतका गाडीको ओहोर–दोहोर, बिजुलीको पोलमा पार्टीका झण्डा र पोस्टर अनि टोल–टोलमा तामझामसहितको घरदैलोले नेपालगन्जलाई चुनावमय बनाएको छ। यतिबेला नेपालगन्जको चुनावमा ठूलापार्टीको तामझाम बढी देखिएको छ।
उम्मेदवार सार्वजनिक नगरे पनि ठूलो पार्टी नेपाली कांग्रेसले घरदैलो र भेटघाटलाई तीव्रता दिएको छ। १२ जनाले मेयरका लागि निवेदन हालेको कांग्रेसमा डा. सुरेशकुमार कनोडियाको पक्कापक्की जस्तो रहेको पार्टीसम्बद्ध नेताहरु नै बताउँछन्। पार्टीमा त्याग गरेको भन्दा पनि ‘धन’ हुनेलाई टिकट दिन थालेको भन्दै पुराना नेता तथा कार्यकर्ताको मन्द विरोध भने जारी नै रहेको छ।
टिकटको आश्वासन पाएका डा. कनोडिया भने घरदैलो र भेटघाटमा व्यस्त छन्। उनीविरुद्ध बाँकी उम्मेदवार आकांक्षी ११ जनाले घेराबन्दी गरे पनि उपाय नलागेपछि छिन्नभिन्न भएको बुझिएको छ। संविधानसभा निर्वाचनमा पनि सुशील कोइरालालाई जिताउन र आफू समानुपातिकमा पर्नका लागि डा. कनोडियाले मोटो रकम खर्च गरेका थिए।
कांग्रेसको उपमेयरको पनि टुंगो लागिसकेको छैन। आकांक्षीहरुले हुलमुलमा प्रचार–प्रसार गर्नुका साथै केन्द्रमा दबाब बढाइरहेका छन्। उपमेयरका लागि १० जनाले निवेदन हालेका छन्। नगरका वडाहरुमा पनि उम्मेदवारको टुंगो नै लागेर सार्वजनिक नगरिए पनि आकांक्षीहरुले चुनावी गतिविधिलाई बढावा दिइरहेका छन्।
दोस्रो ठूलो दल नेकपा एमालेले २०५४ सालका उपमेयर समसुद्दिन सिद्दिकीलाई उम्मेदवार बनाएर अगाडि बढेको छ। महिला नेतृ शान्ति ढकाललाई उपमेयरको उम्मेदवार बनाएको एमालेले दैनिक कार्यतालिका नै बनाएर घरदैलो र टोलभेला गरिरहेको छ। नेपालगन्जमा बाक्लो उपस्थिति रहेको मुस्लिम समुदायबाट मेयरको उम्मेदवार बनाएर एमालेले सहानुभूतिको आशा गरेको छ।
तेस्रो दल नेकपा माओवादी केन्द्रले उद्योगी व्यापारी नेता दामोदर आचार्यलाई अगाडि सारेको छ। नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष हुँदै महासंघकै केन्द्रीय सदस्य बनिसकेका आचार्यलाई मेयरको उम्मेदवार बनाएको माओवादी केन्द्रले चुनावी प्रचारप्रसारमा कुनै कमी गरेको छैन।
चौथो ठूला दल र दोस्रो संविधानसभा निर्वाचनमा नेपालगन्ज बजार पर्ने क्षेत्र नं. ३ को निकतटम प्रतिस्पर्धी बनेका राप्रपाका डा. धवल शमशेर राणाको प्रचारप्रसार र तामझाम पनि हेर्न लायक रहेको छ।
यी चारै दलको उम्मेदवारको झण्डावाल गाडी, पोस्टर र घरदैलोले नेपालगन्जलाई चुनाव उन्मुख बनाएको छ। यीबाहेक राष्ट्रिय जनमोर्चाका कृष्ण पाण्डे र एराप्रपाका कृष्णप्रसाद खरेलको प्रचारप्रसार र घरदैलो पनि चलिरहेको छ।
चुनावमा भाग लिने पक्षमा रहेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको भित्र–भित्र जोडतोडका साथ तयारी रहेको छ। उम्मेदवार सार्वजनिक नगरे पनि चुनावको पक्षमा रहेको फोरमले कार्यक्रमहरु राखेर अन्य दलका कार्यकर्ता तान्नेजस्ता चुनाव केन्द्रित गतिविधि गरिरहेको छ।
नेपालगन्जमा चुनावको विरोध गर्ने राजपाको पनि उपस्थिति रहेको छ। केन्द्रीय कार्यक्रमहरुअनुसार राजपाले विरोधका कार्यक्रमहरु गरिरहेको छ। समग्रमा नेपालगन्जमा विरोध गर्नेभन्दा चुनाव पक्षधरको तामझाम नै बढी देखिएको छ। जनताले पनि चुनाव चाहेका छन्। टोल–टोलमा मधेसी–मुस्लिम हुन या पहाडी समुदायका नेता तथा कार्यकर्ताहरु टिकटका लागि दल परिवर्तन गर्दै अगाडि बढेका छन्।
पश्चिम नेपालको ठूलो र पुरानो शहर भएकाले दलहरुले नेपालगन्जलाई केन्द्रबिन्दुमा राखेर चुनावी अभियान चलाएका छन्। नेपालगन्ज उप–महानगरपालिका जित्दा पार्टीको ‘सान’ बढ्ने सबै दलका नेताको भनाइ छ।
नेपालगन्जमा ६२ हजार ३ सय ९६ मतदाता रहेका छन्। चुनाव जित्नका लागि १५ हजारबढी मत चाहिने नेताहरुले हिसाव रहेको छ। नेपालगन्ज बजारमा राजनीतिको पछि नदौडिने मतदाताको धेरै संख्या रहेका छन्। जानकारहरु ३० प्रतिशत हाराहारीका जनता यो वा त्यो पार्टीमा प्रतिबद्ध छैनन्। यही मतले नेपालगन्जको मेयरको फैसला गर्ने बताइन्छ।
बाँकेको एकमात्र नगरपालिका कोहलपुरमा झन् चुनावी सरगर्मी बढेको छ। तीन ठूला दलकै बीचमा प्रतिस्पर्धा हुने कोहलपुरमा घरदैला, भेटघाट र आ–आफ्ना पार्टीमा कार्यकर्ता प्रवेश गराउने होडबाजी चलेको छ। त्यहाँ एमालेबाट कोहलपुर गाविसका पूर्वअध्यक्ष लुटबहादुर रावत, माओवादी केन्द्रले विद्यार्थी नेता नरेन्द्र न्यौपाने र कांग्रेसबाट उम्मेदारको टुंगो नलागे पनि भानुभक्त भट्टराईको नाम अगाडि आइरहेको छ।
जिल्लाका ६ वटा गाउँपालिकाको दौडधुप पनि चरम उत्कर्षमा पुगेको छ। पटक–पटक चुनाव सारिरहे पनि गाउँपालिकामा वैशाख ३१ को शुरुआती चरणको गतिविधि जस्तै दौडादौड रहेको छ। चर्को गर्मी र दिनभरिको दौडधुपले कतिपय उम्मेदवार दुब्लाएका छन्। ‘समयमा खाना र आराम छैन, ४२ डिग्रीको घाममा दिनभरि चुनावी अभियानमा हिँडेपछि दुब्लाउनु त स्वभाविक नै भयो’, एक गाउँपालिका अध्यक्ष उम्मेदवार भन्दै थिए– ‘खुट्टामा पनि फोका उठेको छ।’
बजारमा भन्दा अझ गाउँमा चुनावी गतिविधि बढेको छ। गाउँमा ओल्लो र पल्लो घरका उम्मेदवार बनेर बोलचाल बन्द भएको पाइएको छ।
बाँकेमा २ लाख ४६ हजार ७८ मतदाता रहेका छन्। २ सय ९३ वटा मतदाता केन्द्र बनाइएको छ। सुरक्षा अधिकारीहरु यतिबेला मतदान केन्द्रको स्थलगत अनुगमनमा लागि परेका छन्। सुरक्षा निकायले दक्षिणी सीमा जोडिएका अधिकांश मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखेर सतर्कता अपनाइएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर जिल्लामा नेपाली सेना पनि परिचालन गरिएको छ। दशगजामा नेपाल र भारतीय सुरक्षाकर्मीले संयुक्त गस्ती थालेका छन्। मतदातालाई ढुक्कसँग मतदान केन्द्रमा गएर आफ्नो मत हालेर शान्तिपूर्वक घरसम्म फर्किने वातावरण मिलाउने रणनीतिका साथ सुरक्षा निकाय अघि बढेको छ।
चुनावको विरोध गरिरहेको राजपाको अलि बाक्लो उपस्थिति रहेपनि बाँकेमा अरू समूहको उपस्थिति सानो रहेको छ। राजपाको राजनीतिक विरोध भन्दा पनि भारतबाट अपराधिक समूह आएर हुन सक्ने गडबडीलाई सुरक्षा निकायले चनाखोका साथ हेरेको छ। गाउँशहर चुनाव केन्द्रित भइसकेकाले चुनावको विरोध गर्नेहरुलाई सहज भने छैन। २० वर्षपछि हुन थालेको चुनावले गाउँको विकासमा टेवा पुग्ने भन्दै दूरदराजका स्थानीयहरु चुनावमा लागेका छन्। बाँकेको राप्तीपारिको दुर्गम गाउँ होस् या अलि विकास भएको खजुरा क्षेत्र होस्, सबैतिर जनताहरु चुनावी अभियानमा निस्केका छन्। आ–आफ्ना उम्मेदवारलाई जिताउन मरिमेटेका छन्। ठूला पार्टीको कार्यालयहरुमा हुने गरेको हार–जितको अंकगणितले पनि चुनावलाई अझ रोचक बनाएको छ।
प्रतिक्रिया