म्युजिक खबर अवार्डको मनोनयन सूची सार्वजनिक

0
Shares

 

गीत–संगीतको अवार्ड छैटौं म्युजिक खबर म्युजिक अवार्ड २०७४ को मनोनयन सार्वजनिक गरिएको छ। गत २०७३ वैशाखदेखि चैतसम्म सार्वजनिक भएका गीत–संगीतको विभिन्न ३४ विधाको सर्वोत्कृष्ट ५ भित्र पर्न सफल गीत–संगीतको मनोनयन सार्वजनिक गरिएको हो।

म्युजिक खबरको आयोजनामा विगत ६ वर्षदेखि आयोजना हुँदै आइरहेको यो अवार्ड आगामी असार २९ गते राष्ट्रिय नाचघर जमलको प्रेक्षालयमा सम्पन्न हुने भएको छ। सांस्कृतिक संस्थानको सहआयोजनामा हुने अवार्डमा राष्ट्रिय भाव, पप, लोकदोहोरी, फिल्म र आधुनिक गीत–संगीतका विभिन्न १ सय ७० स्रष्टा तथा सिर्जनाहरु उत्कृष्ट ५ भित्र पर्न सफल भएका छन्। गीत–संगीतको क्षेत्रलाई चलायमान बनाउँदै स्रष्टाको सम्मान, सिर्जनाको सम्मान गर्दै गीत–संगीतको क्षेत्रलाई सम्बद्र्धन, प्रबद्र्धन गर्दै गीत–संगीतमा लाग्नेहरुका लागि ऊर्जा प्रदान गर्नका लागि यो अवार्डको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।

यस अवार्डलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्दै गीत–संगीतको क्षेत्रमा लागेका पत्रकार, बाल प्रतिभा, डायस्पोरा, दीर्घसाधना सम्मान, दशकको सम्मानलगायका सम्मानबाट पनि स्रष्टाहरुलाई सम्मान गरिँदै आएको म्युजिक खबरका अध्यक्ष सुमन पण्डितले जानकारी गराए। अवार्ड गीत–संगीतका विभिन्न ३४ विधामा प्रदान गरिँदै छ।