ऐश्वर्यसँगै रमेशको कमब्याक

0
Shares

 

नायक रमेश उप्रेती लामो समयपछि फिल्ममा फर्कंदै छन्। उनी आफैंद्वारा निर्मित फिल्म ऐश्वर्यबाट फिल्ममा फेरी फर्कन लागेका हुन्। त्यसैले पनि कात्तिकमा रिलिज गर्ने योजना बनेको यो फिल्म उनका लागि वास्तविकरूपमा कमब्याक फिल्म मानिएको छ। ‘वास्तवमा यो फिल्म मेरो लागि कमब्याक फिल्म हो। हुन त योभन्दा अगाडि मैले लामो ग्यापपछि ब्रासलेट नामक फिल्म पनि खेलें’, रमेशले भने– ‘तर, धेरै सोचेर र होमवर्क गरेर आफूले चाहेजस्तो फिल्म भएकाले र पहिलोपटक आफैंले बनाएको फिल्म भएकाले यो मेरो लागि वास्तविकरूपमा कमब्याक फिल्म हो।’

रमेश भन्छन्– ‘केही वर्ष अमेरिका बसें अर्कै कुरा हो। तर, संसारको जुनसुकै कुनामा गए पनि म कलाकार हुँ। मलाई यही क्षेत्रले कलाकार बनायो। यही क्षेत्रले माया दियो र रमेश उप्रेती भनेर चिनायो। मलाई रमेश उप्रेती बनाउने दर्शकका लागि मैले पनि केही न केही गर्नुपर्छ भन्ने सोचेर अमेरिकाबाट फर्केर आई फिल्म बनाएको हुँ। अब फिल्म निर्माणलाई निरन्तरता दिनेछु।’ रमेशले अन्य फिल्मबाट अफर आए पनि आफैंले फिल्म निर्माणलाई प्राथमिकता दिएको बताए। भने– ‘आफैंले बनाएँ भनें भनेजस्तो फिल्म बन्छ भन्ने लागेर फिल्म निर्माणमा आएको हुँ। ऐश्वर्यलाई त्यो रूपमा बनाएको पनि छु। अहिले हामीले यो कुरा भनिरहेका छौं, फिल्म हेरेपछि सबैले भन्नेछन्।’

रमेशले पहिलोपटक निर्मँण गरेको ऐश्वर्यलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन्। वैष्णुदेवी फिल्म्स्को ब्यानरमा नायक रमेश उप्रेती प्रस्तुतकर्ता तथा अर्जुन श्रेष्ठ निर्मँता रहेको फिल्मको कथा रमेश आफैंले लेखेका छन् भने पटकथा र संवाद दिवाकर भट्टराई, गीत र संगीत अर्जुन पोखरेल, द्वन्द्व हिमाल केसी, छायांकन राजेश श्रेष्ठ र सुदीप बराल तथा सम्पादन दीर्घ खड्काको रहेको छ। पोस्ट प्रोडक्सनमा रहेको ऐश्वर्यमा रमेशका साथमा प्रशान्त ताम्राकार, केकी अधिकारी, अर्जुन श्रेष्ठ, अर्जुनजंग शाही, केशव भट्टराई, निर्मल शर्मा, दीपिका प्रसाईं, विकास खतिवडा, कृष्ण शिवाकोटी, सुनीता ठाकुरलगायतका कलाकार मुख्य भूमिकामा छन्।

२ दशकअघि रगत नामक फिल्ममा नेगेटिभ भूमिकामा अभिनय गरी फिल्म क्षेत्रमा डेब्यु गरेका रमेशले करोडपति र यो मायाले लौन सतायोमा पनि नेगेटिभ रोल नै गरेका थिए भने पराइघरबाट नायकका रूपमा डेब्यु गरेका थिए।

पराइघरपछि देवदूत, घर संसार, एक नम्बरको पाखे, यो मायाको सागर, घुम्टो, १६ वर्षे जोवन जस्ता लगातार हिट फिल्म दिन सफल रमेश ७० बढी फिल्ममा अभिनय गरेपछि केही समयका लागि अमेरिका गएका थिए। अमेरिकाबाट फिल्म क्षेत्रमा सक्रिय हुनकै लागि देश फर्केको उनी बताउँछन्।