दिल्लीमा गुञ्जियो सुरसुधा

0
Shares

विपी कोइराला भारत नेपाल फाउन्डेसन र भारतस्थित नेपाली दूतावास नयाँ दिल्लीले शुक्रबार संयुक्तरुपमा नयाँ दिल्लीमा सुरसुधाको प्रत्यक्ष सांगीतिक कार्यक्रम प्रस्तुत गरेको छ। सांस्कृतिक सम्बन्धका लागि भारतीय परिषद्को सहयोगमा भएको म्युजिकल इभिनिङ विथ सुरसुधा नाम दिइएको कार्यक्रममा सुरसुधाको समूहले आफ्ना मौलिक र परम्परागत नेपाली धुन प्रस्तुत गरी स्थानीय नेपाली र भारतीय दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो।
कार्यक्रममा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाली मौलिक संगीतका लागि सुरसुधाले पुर्याउँदै आएको योगदानको चर्चा गरेका थिए। उनले नेपाल र भारतबीचको सांस्कृति आदानप्रदानका लागि यस प्रकारको कार्यक्रम भइरहनुपर्नेमा जोडसमेत दिए। दिल्लीको आईसीसीआर अडिटोरियममा भएको कार्यक्रममा सुरसुधाको समूहले सवा १ घण्टासम्म लगातार आफ्नो लोकप्रिय मौलिक तथा परम्परागत धुनहरु प्रस्तुत गरेर दर्शकलाई आकृष्ट बनाएको थियो।

त्यस क्रममा सुरसुधाले माझी गीतको धुन, जुगलबन्दी, फ्युजन ट्रयाक, एकल फ्युजन गितारको प्रस्तुति प्रस्तुत गरेको थियो भने व्याण्डकी गायिका सरस्वती खत्रीले सदाबहार नेपाली गीत उकाली ओरालीहरुमा र लोक गीत प्रस्तुत गरी दर्शकको मन जितेकी थिइन्। दिल्लीका दर्शकले नेपाली संगीतलाई माया गर्दै छिट्टै अर्को कार्यक्रम प्रस्तुत गर्न आग्रह गरेको व्याण्डका सुरेन्द्र श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी गराए। ‘कार्यक्रमलाई सबैले स्वागत गरे। चाँडै नै अर्को कार्यक्रम गर्न अनुरोध पनि आएको छु श्रेष्ठले भने, ‘तर नेपाली संगीतको प्रचार र प्रवद्र्धन गर्न अझ धेरै काम गनुपर्ने महशुस गरेका छौं।’ कार्यक्रममा ओडिसी डान्सर पौमी गुहाले नृत्य प्रस्तुत गरेकी थिइन्।

सुरसुधाले यसअघि चीनमा आयोजित कार्यक्रममा भव्य स्वागत पाएको थियो।