३,५०० हेक्टर वनमा नोक्सानी


दाङ, २७ जेठ । दाङमा यस वर्षको गर्मी मौसममा ५४ स्थानका वन क्षेत्रमा आगलागी भएको छ । चौंतीस वटा सामुदायिक र २० वटा राष्ट्रिय वन क्षेत्र गरी ५४ स्थानमा आगलागी भएको जिल्ला वन कार्यालय दाङले जनाएको छ ।

उक्त आगलागीबाट झन्डै तीन हजार ५०० हेक्टर क्षेत्रको वनमा नोक्सानी भएको छ । सामुदायिक वनको दुई हजार ४९५ हेक्टर र राष्ट्रिय वनको ९९० हेक्टर गरी तीन हजार ४८५ हेक्टर वन क्षेत्रमा आगलागी भएको वन कार्यालयका सहायक वन अधिकृत हरि गौतमले जानकारी दिनुभयो ।

गत वर्ष १५३ स्थानमा आगलागी हँुदा २४ हजार ९६१ हेक्टर वन क्षेत्रमा नोक्सानी भएको थियो । आगलागीले साना बुट्यान जल्ने गरेका छन् । बर्सेनि यहाँका वन क्षेत्रमा आगलागी हुँदै आए पनि आगो लगाउनेको भने पहिचान र उसमाथि कारबाही हुन सकेको छैन ।

बीचमा पानी परेका कारण पनि अहिले कुनै पनि क्षेत्रका वनमा आगलागी नभएको वन कार्यालयले जनाएको छ । सम्भव भएसम्मका क्षेत्रमा सुरक्षाकर्मी, वन रक्षक र उपभोक्ताले आगो निभाएका छन् । रासस