शर्मामाथि अनुसन्धान गर्न छदिन म्याद थप

0
Shares

काठमाडौँ, २६ जेठ । विशेष अदालतले कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप अनुसन्धानका लागि छ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ ।

भ्रष्टाचारका अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा यही जेठ १९ गते पक्राउ परेका शर्मालाई आयोगले भ्रष्टाचार अभियोगमा अनुसन्धान गर्न म्याद थपका लागि दिएको निवेदनअनुुसार न्यायाधीशद्वय मोहनरमण भट्टराई र नरेन्द्र शिवाकोटीको संयुक्त इजलासले आज छ दिनको म्याद थप गरेको हो ।

यही जेठ २१ गते आइतबार शर्मालाई सातदिन थुनामा राख्न अनुमति दिएको थियोे । आयोगले कर निर्धारणका विषयमा छलफल गर्न गत शुक्रबार महानिर्देशक शर्मालाई आयोगको कार्यालयमा बोलाएकोमा पक्राउ गरी हिरासतमा राखेको थियो । रासस