विपद्केन्द्रित भण्डारण केन्द्रलाई अमेरिकी सहयोग


हेटौंडा,(नेस) । हेटौंडामा अमेरिकी सहयोगमा निर्माण भएको विपद्का बेलामा आवश्यक सामग्री भण्डारण केन्द्र बिहीबार हस्तान्तरण गरिएको छ ।
अमेरिकी सरकारका प्रतिनिधि अमेरिकी सेनाका सिभिल अफिसर्स प्लानर क्याप्टेन स्टेफनी निकोल फर्टगनले खाद्य संस्थानका महाप्रवन्धक शिवहरि श्रेष्ठलाई विपद्केन्द्रित भण्डारण केन्द्र हस्तान्तरण गरेका हुन् ।
हेटौंडा–२, चौकीटोलमा ९ महिनामा केन्द्र निर्माण गरिएको हो । खाद्य संस्थानको स्वामित्वमा रहेको जमिनमा भण्डारण केन्द्र निर्माण गरिएको हो ।
अमेरिकी सरकारको सहयोगमा हेटौंडासँगै बीरगञ्जमा पनि केन्द्र निर्माण गरिएको बताइएको छ । १ हजार मेट्रिकटन सामग्री राख्न सकिने भण्डारण केन्द्र फलामे ट्रष्टले निर्माण गरिएको छ । संयुक्त राष्ट्रसंघको मापदण्डअनुसार भण्डारण केन्द्र निर्माण गरिएको बताइएको छ ।