विराटनगर, २६ जेठ । प्रदेश नं– १ को राजनीतिक केन्द्रविन्दुको रुपमा मानिएको विराटनगर महानगरपालिकाको स्थानीय तहको निर्वाचनका लागि प्रमुख दलले उम्मेदवारको नाम सार्वजनिक नगरेकाले सर्वसाधारण मतदाता अलमलमा परेका छन् ।
दोस्रोचरणको निर्वाचनको मिति दुई पटक सारिएको र अहिलेसम्म मुख्य राजनीतिक दलले उम्मेदवारको नाम सार्वजनिक नगर्दा सर्वसाधारण मतदातालाई कतै पुनः निर्वाचनको तिथि सारिने हो की चर्चाका कारण थप अलमलमा परेका हुन् ।
नेकपा (माओवादी केन्द्र) ले विराटनगर महानगरपालिकाका प्रमुख, उपप्रमुखलगायत १९ वटै वडाका अध्यक्ष र सदस्यका नाम सार्वजनिक गरिसकेका छन् भने नेपाली काँग्रेस, नेकपा (एमाले) सङ्घीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक नेपाल, राप्रपालगायतका दलले अधिकारिक रुपमा उम्मेदवारको टुङ्गो लगाएको छैन् ।
विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि काँग्रेसबाट सांसद अमृत अर्याल, विश्वनाथ रिजाल, भीम पराजुली र डिला सङ्ग्रोलाको नाम चर्चामा छन् भने नेकपा (एमाले) बाट पूर्वमन्त्री लालबाबु पण्डित, पार्टीका जिल्ला अध्यक्ष विनोद ढकाल, पूर्वअध्यक्ष महेश रेग्मीलगायतका नाम चर्चामा छन् ।
त्यस्तै विराटनगर महानगरपालिकाको प्रमुखमा राप्रपाबाट पूर्व नगरप्रमुख प्रह्लाद साहको नाम जिल्लाबाट सिफारिस भएको छ भने सङ्घीय समाजवादी फोरम नेपालबाट जयराम यादव, भुराज राई र उमेश यादवको नाम चर्चामा छन् ।
यस्तै लोकतान्त्रिक फोरम नेपालबाट भविस श्रेष्ठको नाम अघि सारिएको बताइएको छ । विराटनगर महानगरपालिकामा फोरम लोकतान्त्रिक र सङ्घीय समाजवादीबीच तालमेलको सम्भावना रहेको सङ्घीय फोरम नेपालका कार्यकर्ता देवेन्द्र यादवले जानकारी गराउनुभयो ।
राष्ट्रिय जनता पार्टी (राजपा) पनि निर्वाचनमा सहभागी भएमा निर्वाचनमा कडा प्रतिस्पर्धा हुने सम्भावना रहेको सर्वसाधारण मतदाताको बुझाइ छ । विराटनगर महानगरपालिकामा मुख्य राजनीतिक दलका साथै मधेस केन्द्रित दलको पनि राम्रो पकड रहेकाले यस महानगरपालिकाको निर्वाचनको परिणाम बढी रोचक हुने राजनीतिक विश्लेषकहरुले अनुमान छन् ।
यसैबीच, विभिन्न राजनीतिक दलहरुले निर्वाचनको प्रचारप्रसारलाई व्यापक रुपमा तीव्रता दिएका छन् । पार्टीको झण्डा र चुनाव चिन्ह बोकेर दलका प्रतिनिधिले सर्वसाधारण मतदाताको घरदैलो पुग्ने कार्यमा खटिएका छन् । मतदाताहरुलाई आकर्षित पार्नका लागि विभिन्न दलले विराटनगर बजारमा मोटरसाइकल ¥यालीसमेत निकाल्ने गरेका छन् । रासस
प्रतिक्रिया