पुनस्र्थापना भएनन् छोटी भन्सार

0
Shares

नेपाल समाचारपत्र
बाँके
द्वन्द्वकालमा विस्थापित भएका बाँकेका छोटी भन्सारहरू किन सुचारु गरिँदैन, के तिनीहरू पहिला त्यत्तिकै ‘सो पिस’ का लागि राखिएका थिए ? बेलाबेलामा यस्ता प्रश्न उठ्ने गरेका छन्।

नेपालगन्ज भन्सारलाई सहयोग पुर्याउने सात वटा छोटी भन्सार बन्द भएको वर्षौ हुँदासमेत त्यसलाई सुचारु नगरिनुले राज्यलाई ती आवश्यक छैन भन्ने प्रष्ट भएको छ।

पूर्वमा सुइया, बघौडा, नरैनापुर, भगवानपुर, खडैचा र भंगोट्ना तथा पश्चिममा साईगाउँ र उढरापुरमा छोटी भन्सार कार्यालय थिए। माओवादीको सशस्त्र द्वन्द्वकाल आसपासमा यी छोटी नाकाहरू बन्द भएका थिए। जसको डरले छोटी नाका बन्द भयो, त्यही पार्टीले तीनपटक सरकारको नेतृत्व गर्दासमेत छोटी भन्सारहरू सुचारु भएनन्।

छोटी भन्सार आवश्यक नै छैन त ? नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी लक्ष्मीदत्त जोशीले भन्नुभयो–‘छोटी नाका भएका ठाउँमा भारतीय कस्टम छैनन्। भारतले सामान ल्याउन नदिएपछि छोटी भन्सार प्रभावकारी हुन सक्दैन।’

सातमध्ये राप्तीपारी एउटा छोटी भन्सार सञ्चालनका लागि बेलाबेलामा आवाज उठ्ने गरेको छ। राप्तीपारीका स्थानीयले त्यस्तो आवाज उठाउने गरेका छन्।

नेपालगन्ज भन्सार कार्यालयले धेरै राजस्व नउठ्ने निष्कर्ष निकाले पनि बाहिर भन्दा भौतिक संरचना नभएकोमा जोड दिइरहेको छ। उसले हरेक कार्यक्रम या माथिल्लो निकायमा पठाउने प्रतिवेदनमा भौतिक संरचना नभएकाले सातवटै छोटी भन्सार कार्यालय सञ्चालनमा आउन नसकेको बताउने गरेको छ। विगतमा छोटी भन्सारबाट खाद्यान्न निकासी हुन्थ्यो।

नेपालगन्ज भन्सारमा चाप बढिरहेको छ। राजस्व संकलनमा ठूलो हिस्सा ओगटेको नेपालगन्ज भन्सारले छोटी नाकालाई व्यवस्थित गर्न सकेमा अझ राम्रो हुने सम्बद्धहरू बताउँछन्। ४८ जना दरबन्दी रहेको नेपालगन्ज भन्सारमा अझ व्यवस्थित गर्न र सहज गराउन सकेमा राजस्व संकलनमा वृद्धि हुने उद्योगी व्यवसायीहरू बताउँछन्। भन्सारमा कर्मचारीलाई एजेन्टहरूले घुमाउने गरेको गुनासो बेलाबेलामा आउने गर्दछ। एक वर्षअघि राज्य व्यवस्था समितिका अधिकारीहरूले नेपालगन्ज भन्सारको अनुगमनपछि त्यस्तै प्रतिक्रिया दिएका थिए।