ओस्टापेन्को फ्रेन्च ओपन फाइनलमा

0
Shares

पेरिस, (एजेन्सी)
बर्थ डे गर्ल यलेना ओस्टापेन्कोले अर्की बर्थडे गर्ललाई हराएर यस वर्षको फ्रेन्च ओपनअन्तर्गत महिला सिंगल्सको फाइनलमा स्थान सुरक्षित गरेकी छन्।

पेरिसस्थित रोलान्ड ग्यारोसमा बिहीबार भएको सेमिफाइनल खेमला लात्भियाकी ओस्टापेन्कोले टिमिया बेकसिन्जकीलाई तीन सेटमा हराएकी हुन्। उनले सो खेल ७–६, ३–६, ६–३ को सेटले जितेकी थिइन्। उनले फाइनल पुगेसँगै इतिहाससमेत रचिन्।

सन् १९८३ पछि फ्रेन्च ओपन महिला सिंगल्स फाइनलमा पुग्नेमा ओस्टापेन्को पहिलो खेलाडी हुन्। तत्कालीन युगोस्लाभियाकी मीमा जउसोभेचले त्यतिबेला फाइनलमा पुगेर रेकर्ड राखे पनि क्रिस एभर्टसँग हारेकी थिइन्। साथै ओस्टापेन्को ग्रान्डस्लाम फाइनलमा पुग्ने पहिलो लात्भियन खेलाडीसमेत बनेकी छिन्। विश्व वरीयतामा ४७औं स्थानमा रहे पनि उनी जारी प्रतियोगितामा वरीयताविहीनका रूपमा सहभागी भएकी हुन्। पहिलो पटक ग्रान्डस्लाम प्रतियोगिताको फाइनलमा पुगेकी ओस्टापेन्कोले जितसँगै २०औं बर्थ डे पनि मनाएकी थिइन्।

उता स्विस खेलाडी बेकसिन्जकीले जितपछि २८औं बर्थ डे खुसीसाथ मनाउन पाइनन्। उनी फेरि एकपटक सेमिफाइनलमा रोकिइन्। यसअघि सन् २०१५ को फ्रेन्च ओपन महिला सिंगल्सअन्तर्गत उनी सेरना विलियम्ससँग सेमीफाइनलमै हारेकी थिइन्।