पुलिस र आर्मी दुवै विजेता

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पहिलो पटक आयोजना भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि संयुक्तरूपमा जितेका छन्।

बिहीबार वर्षाको कारण कीर्तिपुरस्थित त्रिवि मैदानमा फाइनल खेल पूरा हुन नसकेपछि दुवै विभागीय टोलीलाई विजेता घोषणा गरिएको हो। सर्वाधिक राशि पुरस्कारको प्रतियोगितामा समूह चरणमा आर्मीले पुलिसलाई सात विकेटले हराएको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४५ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय २६ रन मात्रै बनाएको थियो। जसमा आर्मीका जितेन्द्र मुखियाले चार र सुसन भारीले तीन विकेट लिएका थिए। जवाफमा आर्मीले २ दशमलव ३ ओभरमा एक विकेटको क्षतिमा ७ रन बनाउँदा वर्षा भएको थियो। यसपछि अम्पायरका अनुसार दुवै टोलीका कप्तान पुनः खेल सुचारु गर्नमा सहमत भएनन्।

पहिलो पुरस्कार २० लाख भए पनि दुई विजेता भएपछि दुवैले समान १५–१५ लाख नगद हात पारे। यस्तै सेमिफाइनलमा पराजित सशस्त्रको एपीएफ क्लब र पश्चिमाञ्चल टोलीले ५०–५० हजार रुपियाँ प्राप्त गरेका थिए। प्रतियोगिताको म्यान अफ द सिरिज घोषित भएर आर्मीका सागर पुनले १ लाख नगद हासिल गरे।

यसैगरी उत्कृष्ट ब्याटसम्यान पश्चिमाञ्चलका सौरभ खनाल, उत्कृष्ट बलर आर्मीका सुसन भारी, उदयमान खेलाडी पश्चिमाञ्चलका विपिन खत्री घोषित भएका थिए। जसमा सौरभ र सुसनले ५०–५० हजार तथा विपिनले २५ हजार नगद हात पारेका थिए।