विष्फोटक पदार्थ सहित विप्लव माओवादीका २ कार्यकर्ता पक्राउ


सञ्जय कार्की, रौतहट । बिस्फोटक पदार्थ सहित प्रहरीले बुधबार राती चन्द्रनिगाहपुर बाट नेकपा माओबादी बिप्लब समुहका दुई जना लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा जिल्ला आँपगाछिका दिलिप थापा र तारा थापा रहेका छन । ग ३ प ३९११ नम्बरको मोटरसाइकल आएका ती दुबैले मकबानपुरको हेटौडा बाट बिस्फोटक पदार्थ ल्याएर चन्द्रनिगाहपुरको न्यु सुदर्शन होटलमा बास बस्न लागेको बेला पक्राउ परेका हुन ।

उनीहरुको साथमा रहेको झोला बाट ३० थान जिलेटिन, २२ थान डेटोनेटर, चार थान फ्यूज सहित चार थान मोवाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो । आसन्न स्थानीय तहको निर्बाचन बिथोल्नको लागि उनीहरु बिस्फोटक पर्दाथ सहित परिचालन भएको हुनसक्ने औल्याइएको छ ।

पक्राउ परेका उनीहरुको साथबाट रेड खबर साप्ताहिक पत्रिकाको नामबाट सूचना विभागले जारी गरेको प्रेस कार्ड समेत बरामद भएको प्रहरीले जनाएको छ । भारतको नागपुरमा निर्मित उक्त बिस्फोटनजन्य पर्दाथ रहेको खुलेको छ । बरामद भएको जिलेटिनको स्टिकरमा उक्त कुरा उल्लेख रहेको छ ।