जावलाखेल र हिमालयन शेर्पा क्वार्टरफाइनलमा

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब ललितपुरमा जारी दोस्रो ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलमा पुगेका छन्।
बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा समूह ‘सी’अन्तर्गत भएका खेलमा हिमालयन शेर्पाले न्युरोड टिमलाई ६–४ गोलअन्तरले हरायो। यो जितले सो समूहमा जावलाखेल, हिमालयन शेर्पा र लुम्बिनीको समान ६⁄६ अंक बनेको थियो। गोलभिन्नताको आधारमा जावलाखेल शीर्ष स्थानमा रहँदा हिमालयन शेर्पा दोस्रो स्थानमा रहेको थियो। लुम्बिनी भने तेस्रो स्थानमा रहेर समूह चरणबाटै बाहिरियो।

यसैगरी समूह ‘ए’बाट च्यासल युथ क्लबको स्थानमा सरस्वती युथ क्लबले अन्तिम आठमा स्थान बनाएको छ। च्यासल प्रतियोगिताबाट अयोग्य घोषित भएपछि सरस्वतीले मौका पाएको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजक कमिटीले सरस्वतीको च्यासलविरुद्ध राखेको उजुरीमा कारबाही गरेको थियो।