पूर्वेली भाका सार्वजनिक

0
Shares

गायक राजेशपायल राई र ममता राईद्वारा गाइएको पूर्वेली लोकभाका फूलै राखी हातैमा बिन्ती बिसौं कि म्युजिक भिडियोसहित राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

माया पिरतीको कुरासँगै पूर्वको विभिन्न गाउँठाउँलाई समेटिएको गीतको भिडियोमा किराती कलासंस्कृति र भेषभूषा झल्काइएको छ। गायिका ममताको गीति अडियो एल्बम ममता–२ को गायिका मीरा राणा, संगीतकार शान्तिराम राईलगायतले विमोचन गरे। ‘ममताको स्वरमा साँच्चीकै मिठास पाएँ।

गीत तथा भिडियो त यस्तो पो हुनुपर्छ’ –विमोचनपछि समारोहमा बोल्दै गायिका राणाले भनिन्। संगीतकार शान्तिरामले लामो समयपछि पूर्वेली लोकभाकाको मन छुने गीत तथा भिडियो हेर्न पाएको बताए। ‘पछिल्लो समय हराउन लागेको पूर्वेली लोकभाकालाई ममताले ब्युँताएकी छन्’ –राईले भने।
पत्रकार एमपी सुब्बाले निर्देशन गरेको फूलै राखी हातैमा गीतको म्युजिक भिडियोमा मोडल तथा अभिनेत्री निशा लिम्बु पोमु र गायक रुकमान लिम्बुले अभिनय गरेका छन्। भिडियो नवीनबाबु गुरुङले खिचेका छुन् भने सम्पादन विकास धमलाले गरेका छन्।

गायिका ममताको यो दोस्रो एल्बम हो। निरन्तरताका लागि एल्बम ल्याएको गायिका ममताले बताइन्। ‘एल्बम त बिक्री हुँदैन। तर, निरन्तरताका लागि भए पनि एल्बम ल्याएकी हुँु –उनले खुलाइन्। एल्बममा शिरै फूल मेरो, कमलमुखी, फूलै राखी, तिमी मेरो, लेकमा फुल्ने र हाकु पटासीलगायत आधा दर्जन गीत संगृहित छन्। यी गीतमा शिवसंगम राई, भूपाल राई, रुद्रकुमार राई, इन्द्र जिजिबिसा, खगेन्द्र याक्सो, धु्रवसत्य परियारलगायतको शब्द तथा संगीत रहेको छ।