विदेशी पदयात्रीले भूकम्पपीडितलाई जग्गा धनी पुर्जा दिलाए


धुन्चे (रसुवा), २४ जेठ । भूकम्पपछि जग्गाको स्वामित्व नभएर अनुदान सम्झौता गर्न नपाएका पार्वतीकुण्ड गाउँपालिका– १ र २ का ३०४ घरपरिवारले विदेशी पत्रयात्रीको सहयोगमा बल्ल अहिले जग्गाधनी पुर्जा पाएका छन् ।

साविकको हाकु गाविसका ती घरपरिवारले पुस्तौँदेखि जमिनको जोतभोग गर्दै आएको सो जग्गा स्वयम्भू पुरानो घ्याङ गुठीको नाममा थियो । गुठीको नाममा जग्गा हुँदा किनबेच एवम् धितो राखेर ऋण लिन नपाएका स्थानीयवासीले बेला बेलामा स्वामित्वका लागि आवाज उठाए पनि काम हुनसकेको थिएन ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले हाकुका सबै घर भत्किए । छिमेकी गाउँका पीडितले अनुदान सम्झौता गरी पहिलो किस्ताको रु ५० हजार लिएर घर पुनःनिर्माण सुरु गरे पनि यहाँका ३०४ परिवारका आफ्नो नाममा जग्गाको स्वामित्व नभएका कारण अनुदान सम्झौता पनि गर्न नपाएकाले अहिलेसम्म पाल र जस्ताको टहरामा बस्न बाध्य हुन् ।

गुठीको जग्गा जोत भोग गर्नेका नाममा मोहीयानी हक कायम गरी पुर्जा निकाल्न हजारौँ रुपैयाँ लाग्ने सुनेका यहाँका न्यून आय भएका तामाङ समुदायले पैसा जुटाउन नसकेकैले समस्या समाधान हुनसकेको थिएन । भूकम्पपछि नेपालमा पदयात्रा गर्न आएका अष्ट्रियाका नागरिक उल्फ क्रियुत्स्च्निङ स्टेफन केकले यहाँको समस्या देखेर समाधानका लागि सहयोग गर्ने बचन दिनुभयो ।

स्वदेश फर्किएपछि उहाँको अष्ट्रियन गैरसरकारी संस्था ‘स्टेप जिरो पोइन्ट वन’ले हिमालयन पिस एजुकेसन फाउन्डेसन नेपाल मार्फत् जग्गाको समस्या समाधानका लागि सहयोग उपलब्ध गराएपछि पीडित किसानले पुर्जा पाएका हुन् । पदयात्री उल्फले आइतबार ६० जना मोहीलाई जग्गाको मोहियानी हकस्वरुप पुर्जा वितरणका लागि प्रति किसान रु सात हजार उपलब्ध गराउनुभएको थियो । उहाँले उपलब्ध गराउनुभएको सहयोगका कारण आइतबार नै ६० जना किसानले पुर्जा पाएका हुन् ।

बाँकी किसानको पुर्जा पनि बनिरहेको जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख गणेश श्रेष्ठले जानकारी दिनुभयो । गुठीको जग्गामा बसोवास गरेका हाकुका सबै किसानलाई पुर्जा वितरणका लागि आवश्यक पैसा आएकाले मालपोत कार्यालयबाट पुर्जा बनेपछि क्रमशः दिइने बताउनुहुन्छ फाउन्डेसनका अध्यक्ष राजेन्द्र लामा ।
“पूर्जा वितरण गरिसकेपछि त्यहाँको विद्यालय पुनःनिर्माणमा पनि सहयोग गर्ने फाउन्डेसनको कार्यक्रम छ, नेपाल घुम्न आएका विदेशी पर्यटकले विपन्न वर्गका नेपालीको अवस्था देखेर उनीहरुको जीवनस्तर माथि उठाउन दिएको सहयोग लक्ष्यित वर्गमै पु¥याउँछौ”–पर्यटन व्यवसायीकारुपमा समेत काम गर्दै आउनुभएका लामाले भन्नुभयो ।

उल्फलाई पदयात्रा पथप्रदर्शकका रुपमा हाकु गाउँ पु¥याउनुहुने नवाङ लामा भूकम्पले भत्काएको विद्यालय बनाइदिने सोच लिएर पुग्दा पुर्जा नभएका कारण गाउँवासीले अनुदान सम्झौता पनि गर्न नपाएको देखेपछि सो समस्या समाधान गर्न लागिएको बताउनुहुन्छ ।

“गुठीलाई एक मोही बराबर रु पाँच हजार बुझाइएको छ, यसअघि गुठीले एकै किसानको लाखौँ रुपैयाँ लाग्छ भनेका थिए, धेरै पैसा यहाँका किसानले तिर्न सक्दैनन् भनी राजनीतिक नेतृत्वबाट समेत पहल गरेपछि सहुलियत गरी रु पाँच हजार तिरियो, जिल्ला मालपोत कार्यालयमा तिरोको रु दुई हजार बुझाउन पनि पदयात्री उल्फले दिएको सहयोग परिचालन गरिएको छ”–उहाँले भन्नुभयो ।

जग्गा कमाएका किसानले पदयात्री उल्फले दिएको सहयोग स्वयम्भू पुरानो घ्याङ गुठीमा तिरो बुझाएपछि गुठी हुँदै मालपोत कार्यालयले मोहीयानीको हक कायम गरी जग्गा धनी पुर्जा बनाएको लेखनदासका रुपमा काम गर्दै आउनुभएका स्थानीय सानु तामाङले बताउनुभयो ।

पार्वतीकुण्ड गाउँपालिका– १ ठूलो हाकुका ७२ वर्षीय कान्छा लामाले जीवनमा अहिलेसम्म जग्गाको पुर्जा कस्तो हुन्छ देख्नुभएको थिएन । आइतबार विदेशी दाताको सहयोगमा पुर्जा पाएपछि प्रशन्न मुद्रामा उहाँले वर्षौँदेखि कमाइ गर्दै आएको जग्गाको स्वामित्व आफ्नो नाममा आएको बताउनुभयो ।

सोही गाउँका ६५ वर्षीय नोर्बु नाम्ग्याल यसअघि पुर्जा नभएका कारण पटक÷पटक भूकम्पपछिको पुनःनिर्माणका लागि अनुदान सम्झौता गर्न जाँदा नपाएको दुःखेसो सुनाउदै अब छिट्टै सम्झौता गरी पुनःनिर्माण सुरु गर्ने बताउनुहुन्छ ।

पुस्तौँदेखि जग्गा कमाउँदै आए पनि स्वामित्व नपाएकाले कतिबेला जग्गाधनीले उठाउने हो भन्ने त्रासमा रहेका हाकुवासी आइतबार पुर्जा लिन आउँदा हर्षित देखिन्थे । यस्तै मध्येकी हुनुहुन्थ्यो पार्वतीकुण्ड गाउँपालिका –१, ठूलो हाकुकी छिरिङ बुरी तामाङ । पुर्जा पाउने खुसीमा बिहान खाना नखाइ चार घन्टाको बाटो हिँडेर सदरमुकामा धुन्चे आइपुगेको उहाँले सुनाउनुभयो ।

सोही ठाउँकी म्हेन्दो लाछी तामाङ पनि जग्गाधनी पुर्जा लिएको हेर्न श्रीमान् चिनियाँ तामाङसँग सदरमुकामा आएको बताउनुहुन्छ । “पुर्जा पाएपछि राम्रो मान हुन्छ, पुर्जा नहुँदा के खाने ? के लाउने ? कहाँ बस्ने ? भन्ने समस्या हुन्थ्यो, अब त्यो समस्याबाट मुक्ति पाइएको छ”–खुसी हुँदै उहाँले भन्नुभयो ।
वैशाख १२को भूकम्पका कारण यस ठाउँका १० जनाको निधन भएको थियो । भूकम्पपछिको पहिरो र आगलागीले पनि यो गाउँमा क्षति पु¥याएको थियो । भूकम्पले भत्किएका २३ घर आगलागीले खरानीमा परिणत भयो । पहिरोको जोखिम भएकाले आठ घर रहेको स्थानलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको विज्ञ समूहले बस्ती बसाउन नसकिने क्षेत्र घोषणा गरेको छ । रासस