आर्मी र पुलिस फाइनलमा भिड्ने

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच बिहीबार प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा खेल्न भएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो सेमिफाइनलमा पश्चिमाञ्चललाई ४ विकेटले पराजित गर्दै आर्मी उपाधिनजिक पुगेको हो। पुलिसले सोमबार विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३४ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।

पश्चिमाञ्चलले दिएको २ सय ३६ रनको लक्ष्य आर्मीले चार बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्यो। आर्मीको जितमा सागर पुनले ६५ रन र राजेश पुलामीले ५५ रनको अविजित इनिङ्स खेले। म्यान अफ द म्याच घोषित राजेशले ४८औं ओभरमा दुई छक्का प्रहार गर्दै आर्मीको जित पक्का गरेका थिए। ओपनर अनिल मण्डल ४८ रनमा आउट भए। राजु रिजाल २६ रन जोडेका थिए।

पश्चिमाञ्चलका धिरज शाहीले दुई विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलले निर्धारित ४९ ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो। ६६ रनका लागि सात विकेट गुमाएको दयनीय स्थितिलाई उल्टयाए सौरभ खनाल र कृष्ण कार्कीले। उनीहरुले आठौं विकेटका लागि १ सय ४५ रनको साझेदारी गर्दै टोलीको स्कोर २ सय रन कटाएका थिए। साथै यो आठौं विकेटका लागि नेपाली घरेलु क्रिकेटकै सर्र्वािधक ठूलो साझेदारीसमेत बन्यो।

सौरभले ८६ बलमा दुई चौका र आठ छक्काको मद्दतमा ८२ रन बनाए भने कृष्णले ८९ बलमा दुई चौका र छ छक्काको मद्दतमा ७५ रन बनाएको थियो। नुरध्वज सेन २६ रन प्रकाश केसी १३ तथा विपिन खत्री १० रनमा अविजित रहे। आर्मीका सोमपाल कामी, जितेन्द्र मुखिया, सागर पुन र साहव आलमले समान दुई–दुई विकेट लिए। सुसन भारीले एक विकेट लिए।