इजरायल जाने सय जना छानिए

0
Shares

नेपाल समाचारपत्र
बाँके
साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रमअन्तर्गत इजरायल जाने सय जना युवा सोमबार छानिएका छन्।

इजरायली दूताबासको सहकार्यमा साना किसान विकास बैंकले सञ्चालन गर्दै आएको उक्त कार्यक्रममा मध्य र सुदूरपश्चिमबाट सय जना छानिएका हुन्। बैंकको नेपालगन्जका एरिया मेनेजर राजेन्द्र भण्डारीका अनुसार, मध्यपश्चिमबाट ६९ र सुदूरपश्चिमबाट ३१ गरी सय जना छनोट भएका छन्। ३ सय १५ जनाले निवेदन हालेकोमा गोला प्रथाबाट दुई सय जना छानिएको थियो। तीमध्ये अन्र्तावार्ता लिएर १ सय ३० जना छानिएको छ। ३० जना वैकल्पिक हुन्। कागजपत्र पुर्याउन नसक्ने, स्वास्थ्यमा समस्या देखिएमा वैकल्पिकले छनोटको अवसर पाउने छन्।

इजरायली दूताबासले यस वर्ष नेपालबाट ५ सय ४० जना युवालाई लैजाँदै छ। विगत पाँच वर्षदेखि सञ्चालित कार्यक्रमबाट अहिलेसम्म एक हजार ६ सय जना लाभान्वित भइसकेका छन्।

कृषि पेशाबाट विमुख हुँदै गएको युवा जनशक्तिलाई उन्नत कृषि प्रणालीको आधारभूत ज्ञान र सीप प्रदान गरी दिगो व्यावसायिक कृषितर्फ आकर्षित गराउने उद्देश्यले सञ्चालित कार्यक्रममा १२ कक्षा उत्तिण गरेका २२ देखि ३० वर्ष उमेर समूहले भाग लिन पाउँछन्। १० देखि ११ महिना इजरायलमा पढ्ने र काम गर्ने नेपाली युवाले फर्किदा १० देखि १२ लाख रुपियाँ लिएर आउने भण्डारीले जानकारी दिनुभयो। मध्य र सुदूरपश्चिमबाट अहिलेसम्म २ सय १४ जना इजरायल गएका छन्।

साना किसान कृषि सहकारी संस्थाका सदस्य परिवारका योग्य युवा युवतीलाई इजरायलका किन्नरेट कलेज, रामात नेगेभ डेजर्ट एग्रिकल्चरल ट्रेनिङ र सेदोत नेगेभ एग्रिकल्चरल ट्रेनिङ सेन्टरमा ‘अन द जब’ तालिममा पठाइन्छ।
इजरायल जानेले उक्त तालिम केन्द्र⁄कलेजमा हप्ताको एक दिन अध्ययन गर्नेछन् भने ५ दिन कृषि फार्महरूमा कार्य गर्नुपर्छ। कृषि फार्ममा काम गरेवापत उनीहरूले इजरायली नियमानुसारको पारिश्रमिक पाउँछन्।

बैंकका एरिया मेनेजर भण्डारीका अनुसार तालिम पूरा गरी फर्किएका धेरै प्रशिक्षार्थीले नेपालमा नै व्यावसायिक कृषिका नमूना युवाको पहिचान बनाई कृषिप्रति युवाको आकर्षण बढाएका छन्। अभियानले सिमान्तकृत र साना किसानको आर्थिक एवं सामाजिक विकासका लागि महत्त्वपूर्ण भूमिका खेलेको सम्बद्धको भनाइ छ।

गतवर्ष इजरायल गएकाहरू अगस्ट महिनामा फर्किएपछि अहिले छनोट भएकाहरू जाने छन्। काम र दाम दुवै हुने भएकाले इजरायल जाने युवा शक्तिको तछाडमछाड हुने गरेको छ। नेपालको ६८ जिल्लामा सञ्चालित साना किसान कृषि सहकारी संस्थामा आबद्ध साना किसानका परिवारले यो सुविधाका लागि प्रतिस्पर्धा गर्न पाउँछन्।